पुससम्म भित्रियो ७ खर्ब ६३ अर्ब रेमिट्यान्स, वैदेशिक रोजगारीमा जानेको संख्या वृद्धि


काठमाडौँ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो छ महिनामा (साउन–पुस) विप्रेषण आप्रवाह (रेमिट्यान्स) ४.१ प्रतिशतले वृद्धि भई ७ खर्ब ६३ अर्ब ८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.२ प्रतिशतले बढेको थियो।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.१ प्रतिशतले वृद्धि भई ५ अर्ब ५८ करोड पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा १९.५ प्रतिशतले वृद्धि भएको थियो।

यस अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) पनि बढ्दै ८३२ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यो ७९९ अर्ब ५४ करोड रुपैयाँ थियो।

वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्यामा पनि वृद्धि भएको देखिएको छ। समीक्षा अवधिमा अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २ लाख ३० हजार ४३९ रहेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६२ हजार ६२८ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा नयाँ श्रम स्वीकृति लिनेको संख्या २ लाख ०६ हजार ३९० र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ३३ हजार ९४० थियो।