निसान र होन्डाको ६० अर्ब डलरको मर्जर वार्ता किन भयो असफल ?


काठमाडाैँ । जापानका दुई ठूला अटोमोबाइल कम्पनी निसान र होन्डाबिचको सम्भावित मर्जर वार्ता असफल भएको छ। करिब ६० अर्ब अमेरिकी डलरको सम्झौताका लागि चलेको वार्ता अन्ततः निश्कर्षविहीन बनेको हो। मुख्य रूपमा निसानले होन्डाको प्रस्ताव अस्वीकार गर्नु, व्यवस्थापन शैलीमा अन्तर देखिनु र ब्रान्डको स्वतन्त्रतालाई लिएर उत्पन्न मतभेदले सहकार्य सम्भव हुन नसकेकाे समाचार एजेन्सी राेयटर्सले जनाएकाे छ ।

मर्जरको सम्भावना देखिएपछि जापानी अटो उद्योगमा उत्सुकता बढेको थियो। यदि सम्झौता सफल भएको भए, यो जापानकै सबैभन्दा ठूलो अटोमोबाइल मर्जर बन्ने थियो। तर होन्डाले निसानलाई सहायक कम्पनी बनाउन चाहेको प्रस्ताव निसानका नेतृत्वलाई स्वीकार्य भएन। साथै, निर्णय प्रक्रियामा भएको ढिलाइ, व्यवस्थापनको स्वायत्ततासम्बन्धी असहमति र संभावित कर्मचारी कटौतीको जोखिमका कारण अन्ततः मर्जर वार्ता टुंगिएको राेयटर्सले उल्लेख गरेकाे छ।

यस असफलतापछि निसान अब नयाँ साझेदारहरूको खोजीमा रहेको छ। ताइवानको फक्सकनसँग सहकार्यको सम्भावना रहेको चर्चा भइरहेको छ, जसले निसानलाई इलेक्ट्रिक गाडी उत्पादनका क्षेत्रमा मद्दत गर्न सक्छ। फक्सकनका अध्यक्ष यङ लिउले निसानसँग सहकार्य गर्न आफूहरू इच्छुक रहेको जनाए पनि पूर्ण रूपमा अधिग्रहण गर्ने योजना नरहेको स्पष्ट पारेका छन्।

विश्लेषकहरूका अनुसार निसानले अहिले उद्योगको कठोर प्रतिस्पर्धालाई ध्यानमा राखेर नयाँ रणनीति अपनाउनुपर्ने देखिन्छ। हालैका वर्षहरूमा चिनियाँ अटो कम्पनीहरूको प्रभुत्व बढ्दै गएको छ, जसले जापानी अटो उद्योगलाई दबाबमा राखेको छ। यस असफलतापछि निसानले इलेक्ट्रिक गाडी प्रविधिमा ध्यान केन्द्रित गर्ने कि नयाँ साझेदारहरूसँग सहकार्य गर्ने भन्ने प्रश्न उठेको छ।

निसान र होन्डाबिचको सहकार्य असफल भएपछि जापानी अटो उद्योगको भविष्य अझै अन्योलग्रस्त बनेको छ। यदि निसानले सही निर्णय लिन सकेन भने, यसको व्यापारिक अवस्थामा थप समस्या आउन सक्ने अनुमान गरिएको छ।