आरजु राइस मिलको सहकार्यमा पूर्वी नेपालका ४ हजार किसान व्यवसायिक धानखेतीमा आकर्षित


काठमाडाैँ । नेपाली उपभोक्तालाई गुणस्तरीय चामल उपलब्ध गराउँदै आएको ‘आरजु राइस मिल’ले किसानलाई व्यवासयिक धानखेती गर्न प्रोत्साहित गर्दै आएको छ । 

मोरङको बेलबारी–९ पोखरियास्थित अत्याधुनिक आरजु राइस मिल (चामल उद्योग) ले पूर्वी नेपालको मोरङ, सुनसरी तथा झापाका करिव ४ हजार किसानसँग सहकार्य गर्दै देशभरका उपभोक्ताहरूलाई सुलभ मूल्यमा धान विक्री गर्दै आएको छ ।

मिलले धान उत्पादक किसानलाई धान भित्र्याउनका लागि आवश्यक उपकरण सहयोग गर्ने र बजारको सुनिश्चितता गरिदिएपछि धानखेतीतर्फ किसानको आकर्षण समेत बढ्दै गएको छ । मोरङका किसान दिव्यराज खतिवडाले आरजु राइस मिलसँग जोडिँदा धेरै सुलभता र सहज भएको बताए । उनले आफू उक्त मिलसँग यान्त्रिकीकरणका लागि जोडिएको भएपनि अहिले उत्पादित धान समेत मिलले नै किन्ने गरेको बताए ।

धान उत्पादनमा सहयोग गर्ने र उत्पादित धानले उचित मूल्य पाएपछि आफूहरुलाई कुनै समस्या नरहेको बताए । आरजु राइस मिलले धान खरिदका लागि अग्रिम मूल्य ग्यारेन्टी गर्ने भएकोले आफूहरू ढुक्क भएर धान खेती गरिरहेको बताए । “आरजु राइस मिलसँग जोडिएको चाहीँ यान्त्रिकरणकै लागि हो । किनकि खेती गरिन्छ, हार्वेस्टिङ छैन । जनशक्तिको अलि कमि भयो । त्यसकारण पनि जोडिएको हो । पछि उहाँहरुले मिल स्थापना गरिसकेपछि धान खरिद नि गर्न थाल्नुभयो । एउटा समूहगत रुपमा सहकार्य गरेर अहिलेसम्म आइरहेका छौं,”उनले भने ।

बाहिर बजारमा धान बेचेको पैसा समेत समयमा नआउने भएको कारण आरजु मिलसँग सहकार्य गरेको उजको भनाइ छ । अर्को किसान सोमबहादुर पौडेलले धान खेती गर्दा आवश्यक उपकरणहरु पठाइदिने धान खरिद गर्ने भएको कारण धेरै सहज भएको बताए ।

बजारको समेत चिन्ता नहुँदा व्यवसायिक धान खेती गर्दै आएको उनले सुनाए । उनले मिलले प्रत्येक वर्ष नयाँ प्रजातिको धानको बीउ वितरण गर्दा भने रोग लाग्ने र उत्पादन घट्ने चिन्ता रहेको बताए । उनले किसानलाई राम्रो सुलभता दिएकै कारण यहाँका किसानहरु सामुहिक धान खेती गरिरहेको बताए ।

आरजु राइस मिलका अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले आरजु राइस मिलले धानको आयात घटाउन सामुदायिक उद्यमशीलताको अभ्यास गरिरहेको बताए । उनले सामुदायिक उद्यमशीलताको अभ्यास नगरिकन समृद्धिको परिकल्पना गर्न नसकिने समेत बताए । उनले धानखेतीमा आत्मनिर्भर बन्न र व्यवसायिक धान खेती गर्नको लागि आरजु राइस मिलले सहकार्य किसानसँग सहकार्य गरिरहेको बताए ।

उनले किसानलाई निर्बाहमुखीबाट व्यावसायिकतातर्फ लैजाने उद्देश्यले कम्पनीले आफ्नै धानखेती र मिलमार्फत विभिन्न बास्नादार चामल उत्पादन गरिरहेको बताए । ५० करोड रुपैयाँभन्दा  बढीको लगानीमा स्थापना गरिएको आरजु राइस मिलले मोरङ, सुनसरी र झापामा गरी चार हजारभन्दा बढी किसानको सहकार्यमा विभिन्न जातका धान उत्पादन गर्दै आएको जनाएको छ । किसानका लागि रोपाईंभन्दा अगाडि नै मिलले धानको न्युनतम समर्थन मूल्य तोक्ने गरेको र किसानले धान मिलमा ल्याएको दुई दिनभित्रै अनलाइन बैंकिङ माध्यमबाट भुक्तानी दिने व्यवस्था गरेको छ ।