काठमाडाैँ । माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटन गर्न लागि परेको आरोप लगाए ।
काठमाडौँमा आयोजित पार्टीको भ्रातृ संगठन प्रेस सेन्टरको अधिवेशनमा उनले यस्तो आरोप लगाएका हुन् । उनले आफू सभामुख हुँदा प्रधानमन्त्री ओलीले दुई पटक संसद विघटन गरेको बताए । संसद विघटन गरेर मध्यावधि निर्वाचनमा जाने र बहुमत ल्याउने केपी ओलीको चाहना पूरा नहुने उनकाे भनाइ छ । उनले सरकारले अध्यादेश ल्याएर संसदको अपमान गर्न खोजेपनि सरकार अध्यादेशको पासोमा परेको दाबी गरे ।
उनले भने, “अझैपनि ठूला ठूला घटना घटाउन सक्छन् यिनीहरुले । फेरि म जोड दिएर भन्छु कि पहिला म सभामुख भएको बेलामा दुई पटकसम्म सदधन विघटन गरेको थियो । आज पनि त्यतैतिर उद्यत छ यो सरकार र यो सरकारका प्रधानमन्त्री । झम्टी झम्टी दुई चोटी विघटन गरेको यो अध्यादेशका कुरा यो सबै फेरि पनि उहाँलाई के लागेको छ भने सदन विघटन गरेर चुनावमा गएँ भने मैले बहुमत ल्याउँछु भन्ने लाग्छ, बहुमत त हजार कोष टाढाको कुरा भयो तर उनलाई त्यो लागिरहेको छ र सदन विघटन गर्नेतिर नै उद्यत भइरहेका छन् ।”
उपाध्यक्ष सापकोटाले जनताको आवाज मुखरित गर्ने संसद विगत २३ दिनदेखि सरकारले कामविहीन भएको लज्जास्पद अवस्था बनाएको आरोप लगाए । उनले विद्युत प्राधिकरणका कार्यकारी अधिकृत तथा सुशासन पक्षमा काम गर्ने कर्मचारीलाई सरकारले प्रताडना दिइ हटाउन खोजेको तर जनताको साथ भएकाले सरकार पछि हटेको दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्