काठमाडाैँ । नेपाली सेनाले विश्व शान्ति र स्थायित्वका लागि संयुक्त राष्ट्रसंघमार्फत एक लाख ५४ हजार तीन सय चालिस नेपाली सैनिकले योगदान गरेको बताएको छ ।
नेपाली सेनाले हालसम्म गरेका कार्यहरूका बारेमा जानकारी दिन आईतवार मुख्यालयमा आयोजित कार्यक्रममा यो जानकारी दिएको हो । नेपाली सेनाका युद्धकार्य निर्देशक सहायक रथी रविन्द्र खत्रीले शान्ति स्थापनाका लागि खटिएका ७३ नेपाली सैनिकले वीरगति प्राप्त गरेको बताए ।
उनले शान्ति कार्यमा खटिएका ६९ सैनिक घाइते भइ आजीवन असहज जीवनयापन गरिरहको समेत बताउनु भयो । संयुक्त राष्ट्रसंघमार्फत शान्ति सेनामा सैनिक खटाउने राष्ट्रमा नेपालको स्थान अग्रणी रहेको उनको भनाइ छ ।
“संयुक्त राष्ट्रसंघको छातामुनि रही विश्व शान्ति र स्थायित्वका लागि हालसम्म विभिन्न ४४ वटा मिसनहरूमा १ लाख ५४ हजार तीन सय चालिस जना नेपाली शान्ति सैनिकहरुले सहभागित जनाइसकेका छन् । यस महान कार्यको दौरान ७३ जना वीर नेपाली सेनाले ज्यान उत्सर्ग गरेका छन् भने ६९ सैनिकहरु घाइते हुन गइ आजिवन असहज जीवन यापन गरिरहेका छन्,”उनले भने ।
नेपाली सेनाले १२ वटा राष्ट्रिय निकुञ्ज, एउटा वन्यजन्तु आरक्षण, एउटा शिकार आरक्षण र चुरे क्षेत्रको सुरक्षा र संरक्षणका लागि नौ हजार सेना खटिएको बताएको छ । नेपाली सेनाले मित्रराष्ट्रहरूका सेनासँग सैनिक तालिमहरु तथा सैनिक उच्च अधिकारीहरुको भ्रमण र समन्वयात्मक बैठक गरी सैनिक कुटनीतिक गतिविधिबाट मित्रराष्ट्रहरुसँगको सम्बन्ध प्रगाढ बनाएको जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्