काठमाडौँ । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले कार्यालय समयमा दूध बोक्ने सवारी साधनको आवागमनमा कडाई गरेपछि ग्रामीण क्षेत्रका किसानहरूबाट उत्पादित दूधको ढुवानीमा समस्या देखिएको छ। यसले दुग्धजन्य पदार्थको बिक्रि–वितरणमा बाधा उत्पन्न गरिरहेको डेरी उद्योग संघले जनाएको छ।
संघका अध्यक्ष राज कुमार दाहालले आज उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथलाई पत्र लेख्दै दूध जस्तो छिट्टै बिग्रने अति संवेदनशील खाद्य वस्तुको सहज आपूर्तिका लागि आवश्यक व्यवस्था गर्न अनुरोध गरेका छन्।
पत्रमा बालबालिका, अशक्त तथा वृद्ध जनसंख्याका लागि आवश्यक पोषणयुक्त दूध समयमै कारखाना तथा उपभोक्तासम्म पुर्याउन नसक्दा समस्या उत्पन्न भएको उल्लेख छ। संघले काठमाडौँ उपत्यकाको शहरी क्षेत्रमा नियमित आपूर्ति हुने दूध बोक्ने सवारी साधनलाई कार्यालय समयको रोकावट नराखी सहज रूपमा चल्न दिन माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्