काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को सात महिनामा नेपाल सरकारको खर्च र राजस्व परिचालनमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा सुधार देखिएको छ।
राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा सरकारको खर्च तथा राजस्व परिचालनमा देखिएको सुधारलाई सकारात्मक संकेतका रूपमा हेरेको छ। अर्थ मन्त्रालय अन्तर्गत महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार संघीय सरकारको कुल खर्च ९.९ प्रतिशतले बढेको छ।
सरकारी विवरणअनुसार, सात महिनामा कुल ७ खर्ब ५४ अर्ब ८५ करोड रूपैयाँ खर्च गरिएको छ, जसमा चालु खर्च ५ खर्ब २२ अर्ब ६३ करोड रूपैयाँ, पुँजीगत खर्च ६८ अर्ब ४२ करोड रूपैयाँ, तथा वित्तीय व्यवस्था खर्च एक खर्ब ६३ अर्ब ८१ करोड रूपैयाँ रहेको छ।
यस्तै, संघीय सरकारको राजस्व परिचालन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३.३ प्रतिशतले वृद्धि भई ६ खर्ब ४२ अर्ब ८५ करोड रूपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा ५ खर्ब ६७ अर्ब ४० करोड रूपैयाँ राजस्व संकलन भएको थियो।
नेपाल सरकार, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार, सात महिनामा कुल रु.२९० अर्ब ५८ करोड ऋण परिचालन गरिएको छ। यसमा आन्तरिक ऋण २ खर्ब २९ अर्ब १५ करोड रूपैयाँ र बाह्य ऋण ६१ अर्ब ४२ करोड रूपैयाँ रहेको छ।
प्रतिक्रिया दिनुहोस्