सरकारले वैदेशिक रोजगार बचतपत्र र नागरिक बचतपत्र निष्काशन गर्दै


काठमाडौँ । सरकारले वैदेशिक रोजगार बचतपत्र २०८६ र नागरिक बचतपत्र २०८६ निष्कासन गर्ने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जारी गरेको सुचना अनुसार वैदेशिक रोजगार बचतपत्र ५० करोड रुपैयाँ र नागरिक बचतपत्र ३ अर्ब रुपैयाँको निष्काशन गर्न लागेको हो ।

सरकारले जारी गर्न लागेको ३ अर्ब रुपैयाँको नागरिक बचतपत्रमा वार्षिक ७ प्रतिशत ब्याजदर तोकेको छ । हरेक ६ महिनामा सरकारले खरिदकर्ताको बैंक खातामा ब्याज भुक्तानी गर्ने जनाएको छ । यो घटीमा १० हजार रुपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा खरीद गर्न पाउने छन् । नेपाली नागरिकले मात्र खरीद गर्न सक्ने जनाइएको छ ।

वैदेशिक रोजगार बचतपत्र वैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिक तथा गैर आवासीय नेपालीहरुबाट बचतपत्र खरिदको लागि आवेदन दिन सक्नेछन् । सरकारले यसको वार्षिक ब्याजदर ८.५ प्रतिशत तोकेको छ । घटीमा १० हजार रुपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा खरीद गर्न पाउने छन् ।

कार्यालयले २०८१ फागुन १५ गतेदेखि २०८१ चैत १५ गतेसम्म कुल निष्कासित रकम बराबर आवेदन प्राप्त भएपछि अन्तिम मिति अगावै बचतपत्रको बिक्री बन्द हुने जनाएको छ । यसको साँवा ब्याज सरकारले २०८६ चैत १८ गते भुक्तानी गर्ने जनाएको छ ।