सिंहदरबार चारेर अनुदान लिने प्रवृतिको अन्त्य भएको छः कृषिमन्त्री अधिकारी


काठमाडाैँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले किसान मन्त्रालयले किसानकै पक्षमा काम गरि रहेको बताएका छन् ।

युवा किसान सञ्जालले आज काठमाडाैँमा आयोजना गरेको किसान सम्मान एंव अन्तरक्रिया कार्यक्रममा मन्त्री अधिकारीले आफूले मन्त्रालयको नेतृत्व समालेको आठ महिनाको अवधिमा भएका कार्य र निर्णयहरू समग्र कृषि र किसानको पक्षमा भएको बताएका हुन् ।

“अझै थुप्रै कामहरू गर्न बाँकी छ जसको सकारात्मक प्रतिफल देखिदै जाने छ,”मन्त्री अधिकारीले भने ,”कृषि ऐन चाडै अघि बढाउने गरि मन्त्रालयले काम गरिरहेको छ, कृषि मार्फत हामीले चाहेको सम्वृद्दि नयाँ ऐन मार्फत प्राप्त हुन सक्ने गरी तयार हुदैँछ ।”

उनले कृषि मार्फत गरिबि घटाउँदै कम्तिमा आफ्नै हैसियतमा बाच्न सक्ने अवस्थामा पुर्याउने लक्ष्य ऐनले बाेकेको बताए ।”किसानलाई परिचय पत्र वितरणको कार्य यसै वष देखि सुरू गर्दैछाैँ । प्रधानमन्त्रीबाट परिचयपत्र वितरण सुरुवात गर्ने तयारी छ,” उनले भने ।

मन्त्री अधिकारीले कृषि मन्त्रालय मार्फत विगत पाँच वर्ष यता अनुदान लिएकाहरूको नाम सार्वजनिक गरिएको उल्लेख गर्दै कृषि र किसानको नाममा १ खर्ब ७ अर्ब रुपैयाँ वितरण भएको र उक्त कुराकाे उपलब्धि खोज्ने काम भएकाे बताए । मन्त्री अधिकारीले सिंहदरबार चारेर अनुदान लिने विगतको प्रवृतिको अन्त्य भएको र आफू मन्त्रालयको नेतृत्वमा रहँदा सम्म अनुदानको दुरुपयोग हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।