काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले असन्तुष्टिको कारोबार गर्न नहुने बताएका छन् ।
सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले असन्तुष्टिको कारोबार नगर्न र असन्तुष्टिलाई उत्तेजनामा लिएर जाने काम नगर्न सचेत गराएका हुन् । उनले राजनीतिक उपलब्धिहरुका सम्बन्धमा आम नागरिकहरुमा सन्तोष रहँदै गर्दा पनि अहिले एउटा ठूलो बेचैनी, असन्तोष रहेको बताए ।
उनले भने ‘नेपाली काँग्रेस पार्टीले के कुरालाई महशुस गरेको छ भने राजनीतिक उपलब्धिहरुका सम्बन्धमा आम नागरिकहरुमा सन्तोष रहँदै गर्दा पनि आजको दिनमा एउटा ठूलो बेचैनी, असन्तोष देखिन्छ ।’
असन्तुष्टि र बेचैनीको मुख्य कारण राजनीतिक अवस्था पछाडि आम नागरिकहरुको अवस्थामा परिवर्तन नआउनु मुख्य कारण रहेको थापाको भनाई छ ।
असन्तुष्टि र बेचैनीलाई हटाउन जरुरी रहेको उल्लेख गर्दैै थापाले नेपाली काँग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारको मुख्य विषय पनि असन्तुष्टि र बेचैनी हटाउनु रहेको बताए ।
सरकारले अर्थतन्त्रमा देखिएका समस्या र संकटलाई समाधान गरेर अघि बढ्ने विश्वास व्यक्त थापाले भने, ‘खास गरेर हाम्रो इकोनोमिमा देखिएका जतिपनि समस्याहरु छन्, संकटहरु छन्, यसलाई सम्बोधन नगरीकन नागरिकका असन्तुष्टि सम्बोधन हुनै सक्दैन । केही समयअघि संसदले केही कानूनहरु पारित गरेको छ । यद्यपि त्यसलाई हामीले प्रारब्धमा मात्रै ठानेका छौँ । त्यो सुरुवात मात्रै हो । त्यसले पोजेटिभ भाइब्ल लिएर आउँछ, त्यो भन्दा बढी होइन । यो समयको हामी प्रयोग गर्न चाहन्छौँ ।’
महामन्त्री थापाले नेकपा एमालेसँग भएको सहकार्यअनुसार नै अघि बढ्ने र संघ वा प्रदेश कतैपनि राजनीतिक अस्थिरतामा नलाग्ने स्पष्ट पार्दै सरकारमा बस्नका लागि मात्रै नभइ परिणाम दिनेगरी काम गर्न आवश्यक रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्