काठमाडौँ ।प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले कुष्ठरोगलाई महारोगको संज्ञा दिएर अहिलेसम्म पनि कानूनले विभेद गर्नु लज्जास्पद भएको बताएकी छन् ।
काठमाडौँमा जारी कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उपसभामुख रानाले कुष्ठरोगलाई महारोगको संज्ञा दिनु लज्जास्पद भएको बताएकी हुन् ।
उनले लोकतान्त्रिक व्यवस्थाले कानून परिस्कृत गर्नुपर्नेमा अझै कुष्ठ रोगीमाथि विभेद गर्नु लज्जास्पद भएको बताइन् ।
नेपालमा दुई लाखभन्दा बढी कुष्ठरोगी दर्ता भएपनि सबैले सामाजिक भत्ता पाउन नसक्नु दुःखद् भएको उनको भनाइ छ ।
समाजले कुष्ठ रोगीलाई महारोग भनेर छिछि र दुर्दुर गर्दा रोगीहरु मानसिक समस्यामा पुग्ने गरेको बताइन् । कुष्ठरोग औषधिको सेवनपछि पूर्णरुपमा ठिक हुने भएकाले रोगीलाई महारोग भनेर तर्साउन नहुने उनको भनाइ छ ।
उनले अरू अशक्तहरूले विभिन्न कला देखाए जस्तै कुष्ठरोगीका लागि पनि कुनै सिर्जनात्मक वातावरणको निर्माण गरी सरकारले आर्थिक सहयोग गर्नुपर्नेमा जोड दिइन् ।
उपसभामुख रानाले कुष्ठ रोगीहरुको आवाज संसदसम्म पुग्नुपर्ने बताइन् । कुष्ठरोगसम्बन्धि विधेयक ल्याउन आफूले सहयोग गर्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्