काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) की सांसद नारायणी शर्माले गर्मीको समयमा नेपाल विद्युत प्राधिकरणले पटक–पटक सूचना नदिई लाइन काट्नु जनतामाथिको अन्याय भएको भन्दै आपत्ति जनाएकी छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसद शर्माले अत्यधिक गर्मीको बेला सूचना नदिई घण्टौंसम्म लाइन काट्दा जनजीवन कष्टकर बन्दै गएको बताइन् ।
उनले भनिन् “यस्तो प्रचण्ड गर्मीमा विद्युत प्राधिकरणले पटक–पटक विना सूचना लाइन काटेको छ। यसरी घण्टौं लाइन काटिँदा जनजीवन कष्टकर बनेको छ। मध्यरातमा जनता सडकमा आउन बाध्य छन्।”
उनले यस्तो कार्य जनताको जीवनमाथिको खेलवाड भएको भन्दै प्राधिकरणलाई जवाफदेही बनाइनुपर्ने माग गरिन्। सांसद शर्माले अहिले पनि पहिले जस्तै साधन र स्रोत रहे पनि नियमित लाइन दिनसक्ने अवस्थामा रहेको प्राधिकरण अहिले किन बारम्बार लाइन काटिरहेछ भन्ने प्रश्न उठाइन् ।
सांसद शर्माले सभामुखमार्फत सरकार र विद्युत प्राधिकरणलाई लाइन नियमित गर्न र सूचना दिने प्रणाली स्पष्ट बनाउन रुलिङ दिन आग्रह गरिन् ।
प्रतिक्रिया दिनुहोस्