काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नेतृत्व परिवर्तनका कारण विद्युत आपूर्तिमा समस्या आएको भन्ने भ्रमपूर्ण हल्ला भएको स्पष्ट पारेका छन् ।
शुक्रवार संघीय राजधानी काठमाडौँसहित देशका विभिन्न ठाउँमा विद्युत आपूर्ति अवरुद्ध भएपछि प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शाक्यले यस्तो समस्या हालको मौसमका कारण आएको बताएका हुन् ।
“चैतदेखि जेठसम्म यस्ता समस्या हरेक वर्ष देखिन्छन्,” उहाँले भने, “वर्षा सुरु हुनुअघि केही दिन हावाहुरी र पानीले समस्या आउँछ, तर अन्य समयमा अवस्था सामान्य रहन्छ ।”
पश्चिमतर्फको लाइन ट्रिप भएका कारण झण्डै दुई घण्टा विद्युत अवरुद्ध भएको र ढल्केबर–मजफरपुर प्रसारण लाइन पुनः नियमित भएपछि मात्रै आपूर्ति सहज भएको जानकारी पनि उनले दिए ।
“यो घटनाले ढल्केबर–मजफरपुर लाइन कति महत्वपूर्ण छ भन्ने पुष्टि गरेको छ,” उहाँले भने, “हामी भारतको विद्युतमा अझै केही हदसम्म निर्भर छौं भन्ने कुरा यो घटनाले देखाएको छ ।”
शाक्यले समस्या समाधानका लागि आफूले सक्दो प्रयास गरिरहेको भन्दै लोडसेडिङजस्तो नकारात्मक शब्द नफैलाउन आग्रह गरे ।
उनले पूर्वाधारमा लगानी भएको भए पनि त्यसअनुसारको कार्यान्वयन नभएकाले समस्या देखिएको उल्लेख गर्दै खिम्ति, बाह्रविसे र लफ्सेफेदीजस्ता परियोजना अझै सञ्चालनमा नआएकोले केही समस्या रहेको बताए । तर, काठमाडौँमा अब भूमिगत विद्युत लाइन सञ्चालनमा आएकाले ठूलो समस्या नआउने उनको विश्वास छ ।
“काठमाडौँमा हावाहुरी आयो भने समस्या काठमाडौँमा, तराईमा आयो भने समस्या तराईमा हुने हो,” उनले थपे, “सुख्खायाममा बसेका धुलो वर्षाको समयमा सिफेज भएर ट्रिप हुनाले पाँच सात दिन समस्या आउँछ, अन्य कारण केही छैन ।”
प्रतिक्रिया दिनुहोस्