ग्वार्को फ्लाइओभर जेठसम्म सञ्चालनमा आउने, निर्माण कार्यलाई तीव्रता दिन मन्त्री दाहालकाे निर्देशन


काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले काठमाडौँको ग्वार्कोमा निर्माण भइरहेको फ्लाइओभर जेठ महिनाको अन्त्यसम्ममा पूरा हुने जानकारी दिएका छन् । मन्त्री दाहालले जेठभित्र फ्लाइओभरको निर्माण सकिएपछि तत्काल सवारी सञ्चालनमा ल्याइने बताए ।

आइतबार बिहान निर्माण स्थलमा गरिएको स्थलगत निरीक्षणको क्रममा मन्त्री दाहालले बाँकी रहेका कामहरू छिटो सक्न निर्माण कम्पनीलाई निर्देशन दिए।

उनले भने,“अब पनि ढिलाई गर्ने छुट छैन। यदि कुनै प्राकृतिक विपत्ती आउँदैन भने जेठको अन्त्यसम्ममा यो फ्लाइओभरबाट गाडी चल्नुपर्छ। यो आयोजनामा धेरैले प्रतिक्षा गरिरहेका छन्।”

फ्लाइओभरमा ३५ मिटर स्पानको चार लेन प्रिकास्ट ग्रिडर पुल सहित एप्रोच सडक र कालोपत्रे निर्माणको काम भइरहेको छ। साथै, ट्राफिक लाईट जडानको कार्यसमेत गरिनेछ। अनुगमनमा सहभागी मन्त्रालयका सचिव केशवकुमार शर्माले केही प्राविधिक समस्या देखिए पनि ती समाधान भइसकेको जानकारी दिए।

सडक विभागका महानिर्देशक रामहरी पोखरेलले राजधानीको सवारी व्यवस्थापनमा ग्वार्को फ्लाइओभर महत्वपूर्ण भएकाले यसलाई प्राथमिकताका साथ पूरा गराउन सकिएको बताए।

सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दिप बराहीका अनुसार फ्लाइओभरको मुख्य संरचनात्मक काम सकिएको छ र अहिले आवश्यक भागमा कालोपत्रेको काम भइरहेको छ।

आशिष समानान्तर रेलिगेर जेभीले १७ करोड ६ लाख ८८ हजार रुपैयाँ लागतमा निर्माण गरिरहेको यो फ्लाइओभर सुरूमा २०८० फागुन ११ गते सम्पन्न गर्ने सम्झौता थियो। तर निर्धारित समयमा सक्न नसकिँदा म्याद थप गरी कार्य अघि बढाइएको हो।

फ्लाइओभर सञ्चालनमा आएपछि काठमाडौँको ट्राफिक व्यवस्थापनमा उल्लेखनीय सुधार हुने अपेक्षा गरिएको छ।