कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव, देशभर कस्ताे हुनेछ माैसम ?


काठमाडौँ । आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका केही स्थानहरूमा बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै आज राती कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहनेछ ।

कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ ।