लेखा परीक्षणलाई अझ प्रभावकारी बनाएर लैजानेछुः तोयम राय


काठमाडौं । महालेखा परीक्षक तोयम रायले आगामी दिनमा लेखा परीक्षणलाई अझ प्रभावकारी बनाएर लैजाने बताएका छन् ।

महालेखा परीक्षक कार्यालयको ६७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै रायले नेपालको संविधानकाे धारा २४१ अनुसार महालेखाले आफ्नो कार्यसम्पादन गर्दै आएको स्मरण गर्दै संघीय संरचाना अनुसार स्थापना भएका प्रदेशहरु कार्यालयहरुमार्फत अझ प्रभावकारी हिसावले लेखा परीक्षण गरेर लगिने बताए ।

यस वर्ष वर्षिक परिक्षण प्रतिवेदन बाहेक नेपाल लेखा परिक्षण व्यवस्थापन प्रणालीमार्फत सबै संघीय तथा प्रदेशमन्त्रालयमा रायसहित मन्त्रालयत प्रतिवेदन जारी गरेको उनले जानकारी दिए । तीनै तहका सरकारको प्रतिवेदन बाहेक ७५ हजार १९० पेजको अन्तिम प्रतिवेदन जारी भइसकेको बताए ।

“महालेखाले रणनीतिक योजना, विभिन्न सरोकारवाला निकायहरुसँगको पृष्ठपोषण, लेखा परीक्षणको अनुभव तथा असल अन्तर्राष्ट्रिय अभ्यासअनुसार वार्षिक लेखा परीक्षण योजना, लेखा परीक्षण नीति तथा वार्षिक कार्यतालिका प्रकाशन गरि सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गरी लेखा परीक्षण सम्पन्न गर्ने गरेको छ,” उनले भने, “महालेखाले सम्पादन गरेको कामको सम्बन्धमा अन्य देशको सर्वोच्च लेखापरिक्षण संस्थाद्वारा समकक्षी पुनारावलोकन गर्ने समेत गरिएको छ । सन् २०१४ मा भारतको नियन्त्रक एवं महालेखा परीक्षकबाट र सन् २०२१ मा स्टेट अडिट अफिसअफ थाइलाइण्डबाट पनि रिभ्यु भएको छ ।”

रायले महालेखा परीक्षक कार्यालयले २०५९ देखि २०८१ सम्म आफ्ना २३ ओटा वार्षिक प्रतिवेदनमार्फत समग्र वित्तीय अनुशासन कायम गर्न तथा सार्वजनिक सेवा प्रवाहलाई सुधार गर्न दिएका सुझावहरु सँगालो प्रकाशन गरिएको बताए।