काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले साढे दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न लागेको छ ।
बैंकले यही असार २९ गतेदेखि २ अर्ब ५० करोड रुपैयाँ बराबरको १० वर्षे अवधि भएको ‘ एसबीएल डिबेञ्चर २०९१’ नामक ऋणपत्र ऋणपत्र निष्काशन गर्ने भएको हो ।
बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ । बैंकले नेपाल धितोपत्र बोर्डबाट ऋणपत्र निष्कासनका लागि गत असार ६ गते स्वीकृती पाएको थियो । १० वर्ष अवधिको यो ऋणपत्रमा वार्षिक ७।२५ प्रतिशत दरले ब्याज भुक्तानी हुनेछ । ।
कुल निष्कासनमध्ये ४० प्रतिशत अर्थात १० लाख कित्ता सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत अर्थात १५ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ । सार्वजनिक निष्कासनमध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ ।
यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। यो ऋणपत्रको निष्कासन बन्द छिटोमा असार ३२ गते र ढिलोमा साउन ११ गते बैंकिङ समयपछि हुनेछ।
इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
बैंकले उक्त ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस्