काठमाडाैँ । अविरल वर्षाका कारण पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्ने खण्डमा पहिरो र सडक भासिँदा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ ।
दाउन्ने क्षेत्रको खुर्सानी खोलानजिकै पहिरो खस्नुका साथै सडकको भाग भासिएपछि आज बिहानैदेखि सवारी सञ्चालन ठप्प भएको हो ।
इलाका प्रहरी कार्यालय बर्दघाटका अनुसार, अवरुद्ध सडकमा फसेको लु १ क ५८२७ नम्बरको ट्रक हटाउने कार्य भइरहेको छ। ट्रक सडकमा अड्किएपछि अवरोध झन जटिल बनेको बताइएको छ ।
सडक खुलाउनका लागि आवश्यक मेसिनरी उपकरण प्रयोग गरी खाल्डो पुर्ने, पहिरो हटाउने तथा ट्रक हटाउने कार्य तीव्रगतिमा भइरहेको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।
“सबै शक्ति प्रयोग गरेर सडक खुलाउने प्रयत्नमा छौँ,” रेग्मीले भने, “पानी परेन भने दिउँसोसम्ममा सडक सुचारु गराउने लक्ष्य छ।”
सडक बन्द भएपछि पूर्वतर्फ जान लागेका सवारी साधनहरू बर्दघाटको टिसिएनचोकमा र पश्चिमतर्फ गइरहेका सवारी साधनहरू दुम्किबासमा रोकिएका छन्। यात्रुहरू लामो समयदेखि अलपत्र परेका छन् भने स्थानीय व्यवसायसमेत प्रभावित भएका छन्।
हाल बुटवल–नारायणगढ सडक विस्तारको काम भइरहेकाले वैकल्पिक मार्ग नभएको र दाउन्ने खण्ड नै मुख्य विकल्प रहेको अवस्थामा त्यही खण्ड बारम्बार अवरुद्ध हुन थालेपछि यात्रु तथा सवारी चालकको सास्ती झन बढेको छ।
विशेषगरी झन्डै १४ किलोमिटर लामो दाउन्ने खण्डको सडक कमजोर भौगोलिक बनावट र पानी पर्दा निरन्तर पहिरो आउने समस्याले गर्दा अत्यन्त जोखिमपूर्ण बन्दै गएको छ ।
स्थानीयवासी तथा सरोकारवाला निकायहरूले यस क्षेत्रको दीर्घकालीन व्यवस्थापनमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका छन्।
प्रतिक्रिया दिनुहोस्