काठमाडौँ । अमेरिकी सहायता निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँग नेपालको सम्झौता पुनः निरन्तरतर्फ अघि बढेको छ।
अमेरिकी राष्ट्रपतिको कार्यकारी आदेशअनुसार केही समयका लागि रोकिएको एमसीसी कम्प्याक्ट सम्झौता अब पुनरावलोकन सम्पन्न भई निरन्तरताका लागि सिफारिस गरिएको अर्थ मन्त्रालयले जनाएको छ।
आर्थिक सहायता सम्झौता कार्यान्वयनमा देखिएको अनिश्चितता अन्त्यतर्फ उन्मुख हुँदै, सन् २०२५ जनवरी २० मा अमेरिकी राष्ट्रपतिको कार्यकारी आदेशका कारण स्थगनमा परेको नेपाल–एमसीसी सम्झौता पुनः अघि बढ्ने भएको हो।
अर्थ मन्त्रालयका प्रवक्ता तथा सहसचिव श्याम प्रसाद भण्डारीले जारी गरेको प्रेस विज्ञप्तिमा एमसीसीले २०८१ साल फागुन २२ गते पठाएको पत्रअनुसार सम्झौता स्थगित गरिएको थियो भने, पछिल्लो पत्र मिति २०८२ साउन ८ गते (जुलाई २४, २०२५) मा पठाइएको र सो पत्रमार्फत पुनरावलोकन कार्य सम्पन्न भई सम्झौता निरन्तरताका लागि सिफारिस गरिएको जानकारी दिइएको उल्लेख छ।
२०७४ साल भदौ २९ गते नेपाल सरकार र एमसीसीबिच हस्ताक्षर भएको कम्प्याक्ट सम्झौताअनुसार नेपालमा ऊर्जा प्रसारण लाइन निर्माण र सडक स्तरोन्नतिको लक्ष्यसहितको कार्यक्रम सञ्चालन हुँदै आएको थियो।
प्रतिक्रिया दिनुहोस्