गत वैशाखमा उद्घाटन भएको धरहराको भौतिक प्रगति ४५ प्रतिशत मात्रै


काठमाडौं । गत वैशाख महिनामै पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको धरहराको ४५ प्रतिशत मात्रै भौतिक कार्य सम्पन्न भएको छ ।

महालेखाको ५८ औं प्रतिवेदन अनुसार अहिलेसम्म धरहराको वित्तीय प्रगति ५५ प्रतिशत र भौतिक प्रगति ४५ प्रतिशत मात्रै भएको छ ।

धरहराको उद्घाटन भैसकेपनि निर्माण कार्य अवधि २४ महिना मध्ये २१ महिना वितिसक्दा पनि सम्झौता अनुरुप निर्माण सम्पन्न हुने अवस्था नदेखिएको महालेखाले जनाएको छ ।

धरहरा पुननिर्माण पुरातत्व विभागबाट स्वीकृत डिजाईन अनुसार २२ तलाको धरहरा र अन्य संरचनाको – निर्माण कार्य गर्न रू.५ अर्ब ४६ करोड ४३ लाखको लागत अनुमान तयार गरेकोमा रू.३ अर्ब ८ करोड ११ लाखमा एक निर्माण व्यवसायीसँग २४ महिनामा कार्यसम्पन्न गर्न २०७५ असोज १४ मा सम्झौता भएकोमा यो वर्षसम्म रू. १ अर्ब ६८ करोड ९९ लाख खर्च भएको छ ।

उक्त प्रतिवेदनमा नेपाल सरकारले २०७२/७३ देखि ’मेरो धरहरा मै बनाउँछु“ अभियान सञ्चालन गरी प्राप्त सहयोग रकम दाखिला गर्न छुट्टै कोष खडा गरेकोमा सो कोषमा यो वर्षसम्म रू.८ करोड ३४ लाख जम्मा भएको उल्लेख गरिएको छ ।

धरहरा पुनर्निर्माणको कामलाई समयमै सम्पन्न गरी धरहरा पुनर्निर्माण कोषको रकम सदुपयोग गर्न महालेखाले निर्देशन दिएको छ ।