काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ साउनको २० गतेसम्म नेपालका विभिन्न मल गोदामहरूमा ४२ हजार ८२४ मेट्रिक टनभन्दा बढी रासायनिक मल मौज्दात रहेको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कअनुसार युरिया, डिएपी र पोटास गरी तीनवटै प्रमुख मलको भण्डारण अवस्था सन्तोषजनक देखिएको छ।
यो मौज्दातमध्ये २९ हजार १ सय ११ मेट्रिक टन कृषि सामग्री कम्पनी लिमिटेडको गोदाममा छ भने १३ हजार ७१२ मेट्रिक टन साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडका गोदामहरूमा रहेको मन्त्रालयले जनाएको छ। युरिया मात्र २७ हजार ५२३ मेट्रिक टन मौज्दातमा रहेको छ, जुन हाल बजारमा सबैभन्दा बढी माग हुने मलमध्ये पर्दछ। त्यसैगरी डिएपी ८ हजार ५९६ मेट्रिक टन र पोटास ६ हजार ७०५ मेट्रिक टन मौज्दात रहेको छ।
मन्त्रालयले साउन १ देखि २० गतेसम्मको अवधि समेटेर सार्वजनिक गरेको विवरण अनुसार सो अवधिमा करिब १ लाख ४० हजार ५०४ मेट्रिक टन मल देशभर विभिन्न स्थानतर्फ मार्गस्थ अवस्थामा पुगेको छ। त्यसमा कृषि सामग्री कम्पनीको तर्फबाट ७८ हजार ३४९ मेट्रिक टन र साल्ट ट्रेडिङ्ग कर्पोरेशनको तर्फबाट ६२ हजार १५४ मेट्रिक टन मल ढुवानी भएको देखिन्छ।
मार्गस्थ मलमध्ये डिएपीको परिमाण उच्च रहेको छ। १ लाख ३ हजार ७८७ मेट्रिक टन डिएपी मल विभिन्न जिल्लातर्फ गइरहेको छ भने युरिया ३६ हजार ७१६ मेट्रिक टन मात्र मार्गमा रहेको देखिन्छ। यता, पोटास मल भने हाल मार्गस्थ अवस्थामा नरहेको मन्त्रालयले स्पष्ट पारेको छ।
यो अवधिमा देशभर ३० हजार ९८३ मेट्रिक टन मल विक्री भएको छ। सबैभन्दा बढी युरिया १९ हजार ९२३ मेट्रिक टन, डिएपी १० हजार ४४८ मेट्रिक टन र पोटास ६११ मेट्रिक टन बिक्री भएको हो। बिक्री भएका मलमा गत आवको बाँकी मौज्दात पनि समावेश गरिएको मन्त्रालयले जनाएको छ।
चालु आर्थिक वर्षका लागि सरकारले ६ लाख मेट्रिक टन मल आपूर्तिको लक्ष्य लिएको छ। त्यसअनुसार हालसम्म ३ लाख मेट्रिक टन मलको टेण्डर सम्पन्न भइसकेको छ। सरकारले यो लक्ष्य कार्यान्वयन गर्न २८ अर्ब ८२ करोड रुपैयाँ बजेट छुट्याएको छ।
कृषि मन्त्रालयका अनुसार बर्खे बाली सिजनका लागि आवश्यक पर्ने मल वितरणलाई नियमित र प्रभावकारी बनाउन गोदाम मौज्दात, ढुवानी र बिक्री कार्यमा तीव्रता दिइएको छ। मल अभाव नहोस् भनेर मन्त्रालयले कम्पनीहरूलाई थप सक्रियता देखाउन आग्रह गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस्