एनसेलले महामारीमै पजनी गरेपछि कर्मचारीहरू आन्दोलित


काठमाडौं । बहुराष्ट्रिय कम्पनीका रुपमा सञ्चालित दूरसञ्चार कम्पनी एनसेल आजियटा लिमिटेडले कोभिड-१९ महामारीकै बीचमा कर्मचारी निकाल्ने, मानसिक दबाब दिन सरुवा गर्ने, तलबभत्ता वृद्धि रोक्ने काम गर्न थालेपछि त्यहाँ कार्यरत कर्मचारीहरू आन्दोलित भएका छन् ।

एनसेल कर्मचारी ट्रेड युनियनको नेतृत्वमा ‘सेवामा अवरोध नपुग्ने गरि’ असार र साउनमा पहिलो चरणको सांकेतिक विरोधका कार्यक्रम सञ्चालन गरेका एनसेलका कर्मचारीहरू सामूहिक सौदाबाजीअनुरूपका सम्झौताहरू पालना गराउन पुनः दोस्रो चरणको दबाबमूलक आन्दोलनमा जुटेका छन् ।

“हामीले सामूहिक सौदाबाजीमा भएका यसपूर्वका सहमतिहरूको पालना, कानुनको पालना र कर्मचारीको सेवासुविधामा श्रम ऐनले ताेकेबमोजिम समानुकूल वृद्धिका लागि पटक-पटक व्यवस्थापनको ध्यानाकर्षण गरायौं, तर व्यवस्थापनले कुनै सुनुवाइ गरेन,” ट्रेड युनियनका एक पदाधिकारीले भने, “त्यसपछि हामी श्रम कार्यालयको नेतृत्वमा दुई पटक वार्तामा बस्यौ‍ं, त्यहाँबाट पनि कुनै निचोड आएन । अब आन्दोलनको विकल्प हामीसँग छैन ।”

एनसेल कर्मचारी ट्रेड युनियनले श्रम तथा राेजगार कार्यालयलाई सामूहिक सौदाबाजी पालना नगरिएको, युनियनका सदस्यलाई महामारीका बीचमा कानुनविपरीत बर्खास्त गरिएको विरोधमा गत असार १९ गतेबाट सांकेतिक विरोधका कार्यक्रम सञ्चालन गरिएको उल्लेख छ । पहिलो चरणको सांकेतिक विरोधपछि यही भदौ २३ गतेबाट अर्को चरणको दबाबमूलक विरोध कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको ट्रेड युनियनका ती पदाधिकारीले बताए ।

“श्रम कार्यालयमा अर्को चरणको मध्यस्तता बैठक भएरहेको छ, त्यहाँबाट पनि निचोड नआए प्रक्रिया समाप्तिसँगैआन्दोलन अझ सशक्त रुपमा अगाडि बढाइने छ,” उनले भने ।

यस्तै, अर्को उजुरी पत्रमा कम्पनीका प्रमुख वित्त अधिकत (सीएफओ), श्रीलंकाका कनिस्क गायब विक्रमा, प्रमुख प्राविधिक अधिकृत (सीटीओ) पाकिस्तानका मोहम्मद अदील इशर र आन्तरिक लेखापरीक्षण प्रमुख मलेसियाका रुबिन दास अरुल दास श्रम इजाजत नै नलिइ कार्यरत रहेको उल्लेख छ ।

श्रम ऐनअनुसार विदेशी कर्मचारीले नेपालमा कार्यरत रहँदा श्रम इजाजत लिनुपर्ने, ताेकिएको अवधि पूरा भएपछि नेपाली श्रमिकलाई दक्ष बनाएर विदेशीलाई प्रतिस्थापन गर्नुपर्ने व्यवस्था भए पनि एनसेलले विदेशी कर्मचारीलाई प्रतिस्थापन गर्ने कुनै कार्ययोजना नै पेश नगरेको उजुरीमा उल्लेख छ ।

ट्रेड युनियन पदाधिकारीको तलब वृद्धि रोकियो

एनसेल कर्मचारी ट्रेड युनियनले कर्मचारीको हकहितको माग अगाडि सारेसँगै एनसेल आजियटाको व्यवस्थापनले ट्रेड युनियनका मुख्य पदाधिकारीको विगत दुई वर्षदेखि तलब वृद्धि रोकेको छ । श्रम कार्यालयमा ट्रेड युनियनले दिएको निवेदनमा ‘ट्रेड युनियनका पदाधिकारीलाई अपराधिक कर्मचारीसरह अनुसन्धान गरेको’ उल्लेख छ ।

“श्रम ऐनअनुसार दिनुपर्ने सेवासुविधामा वृद्धि रोकेको विषयमा पनि श्रम कार्यालयको ध्यानाकर्षण गराएका छौं, त्यहाँबाट हुने मध्यस्तताबाट ठोस निचोड नआए सशक्त आन्दोलन चर्काउने छौं,” उनले भने ।