काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार जिल्ला भक्तपुर, साविक चाँगुनारायण गाविस–५ मा अवस्थित १४ रोपनी ४ आना जग्गा मोही बाँडफाँड तथा नामसारी गरी मोहीको नाममा जग्गाधनी प्रमाणपूर्जा बनाउने प्रयोजनमा सेवाग्राहीसँग घुस रकम माग गरिएको उजुरीका आधारमा अनुसन्धान थालिएको हो।
गत साउन २८ गते आयोगको टंगालस्थित मुख्यालयबाट खटिएको टोलीले मालपोत कार्यालय परिसरमै प्रमुख अधिकारी आचार्यको मोबाइल उपकरण र कार्यालय सहयोगी राउतको साथबाट मोबाइल उपकरणसहित रु.२४ लाख ५० हजार नगद बरामद गरेको थियो।
अनुसन्धानमा आचार्य र राउतले मिलेमतो गरी पूर्वयोजनाअनुसार सेवाग्राहीसँग घुस रकम लिएको पुष्टि भएको आयोगले जनाएको छ। आयोगले उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिमको कसुरमा बिगो बराबरको जरिवाना र कैद सजायको मागसहित आरोपपत्र दायर गरेको हो।
आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार दुवै प्रतिवादीविरुद्ध रु. २४ लाख ५० हजार बिगो कायम गरी कारबाहीको माग गरिएको छ।
प्रतिक्रिया दिनुहोस्