प्रहरीमा महिलाको संख्या २० प्रतिशत पुर्‍याउन गृहमन्त्रीको निर्देशन


काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीमा महिलाको संख्यालाई २० प्रतिशत पु¥याउन निर्देशन दिएका छन् ।

नेपाल प्रहरीले बिहीबार आयोजना गरेको पहिलो महिला प्रहरी सम्मेलनमा गृहमन्त्री लेखकले प्रहरी महानिर्देशक दिपक थापालाइ उक्त निर्देशन दिएका हुन् ।

गृहमन्त्री लेखकले नेपाल प्रहरीको भर्ना प्रक्रियामा २० प्रतिशत आरक्षण रहेपनि हाल १२ प्रतिशत मात्रै महिलाको उपस्थिति रहेको बताए । उनले आरक्षणमा राखिएको २० प्रतिशतलाई परिणाममा पु¥याउनुपर्नेमा जोड दिए ।

गृहमन्त्रीले भने, ‘आजको १२ प्रतिशत जुन नेपाल प्रहरीमा महिलाहरुको उपस्थिति छ, यो २०६२÷०६३ वाट प्रारम्भ भएर आजका दिनसम्म १२ प्रतिशत पुगेको हो । त्यसकारण लोकतान्त्रिक व्यवस्थाले, गणतान्त्रिक व्यवस्थाले, संघिय स्वरुपको व्यवस्थाले, समावेशी चरित्रको राज्य निर्माण गर्ने अहिलेको संविधानको व्यवस्थाले केही पनि गरेन, केही पनि दिएन, केही पनि भएन भन्ने विषयको एउटा ठूलो जवाफ हो यो । कि हामी समावेशी राज्य व्यवस्थातर्फ अघि बढिरहेका छौँ ।’

गृहमन्त्री लेखकले नेपाल प्रहरीमा महिलाहरुको सहभागिता ३३ प्रतिशत पु¥याउन दीर्घकालिन रुपले काम गर्ने पनि जानकारी दिए । उनले २०६२/०६३ सालमा देशमा आएको परिवर्तपछि नेपाल प्रहरीमा महिलाको संख्या १२ प्रतिशत पुगेको दाबी गरे ।

संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने हाम्रो अठोट र २०७२ सालको संविधानले मुलुकमा ठूलो परिवर्तन ल्याएको उनको भनाई छ । तर यत्तिमा मात्रै चित्त बुझाएर बस्ने ठाउँ भने नरहेको उनले बताए ।

उनले गृह मन्त्रालयले नीतिगत र कानूनी सुधारलाई अगाडी बढाएको पनि उल्लेख गर्दै प्रहरी ऐनको मस्यौदा तयार पारेर संसदमा दर्ता गरिएको जानकारी दिए ।

चालु आर्थिक वर्षभित्रै प्रहरी सम्बन्धि ऐन संसदबाट पारित हुनुका साथै हाल प्रहरी नियमावलीको भरमा चलेकोले अस्थिर हुनुपरेको पनि उनको भनाई छ ।

उनले सर्वोच्व अदालतले १० वर्ष अगाडी प्रहरी ऐन ल्याउने आदेश दिएको भएपनि हालसम्म ल्याउन नसकिएको बताए । नेपाल प्रहरी र शसस्त्र प्रहरी बल नेपाल दुवै संगठनसम्बन्धी कानूनलाई चाँडो भन्दा चाँडो पारित गर्ने उनले जानकारी दिए ।