स्थानीय सरकारलाई अझै शक्तिशाली र प्रभावकारी बनाउनुपर्छः मन्त्री न्यौपाने


काठमाडाैँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले संघीयता कार्यान्वयनको क्रममा देखिएका चुनौतीहरू समाधान गर्दै स्थानीय सरकारलाई अझ प्रभावकारी र शक्तिशाली बनाउनुपर्ने आवश्यकता औंल्याएकी छन् ।

शुक्रवार काठमाडौँमा आयोजित ‘गाउँगाउँमा सिंहदरबार’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै मन्त्री न्यौपानेले संविधान र स्थानीय सरकार सञ्चालन ऐनले प्रदान गरेका अधिकारको पूर्ण कार्यान्वयनमार्फत मात्र स्थानीय तहलाई जनमुखी बनाउन सकिने बताएकी हुन् ।

उनले वर्तमान अवस्थामा संघीयता पूर्णरूपमा कार्यान्वयन भइनसकेको स्पष्ट पार्दै अझ केही समय लाग्ने धारणा राखिन्। संविधान जारी भएपछि भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र खानेपानीजस्ता क्षेत्रमा उल्लेख्य प्रगति भएको दाबी गर्दै उनले स्थानीय सरकार जनतासम्म सेवा पु¥याउने सबैभन्दा नजिकको सरकार भएकाले त्यसलाई अझ बलियो बनाउन संघ र प्रदेश सरकारले अधिकार हस्तान्तरण गर्नुपर्नेमा जोड दिइन् ।

मन्त्री न्यौपानेले भनिन्, “संविधानले स्थानीय तहलाई धेरै अधिकार दिएको छ। त्यसअनुसार भौतिक निर्माणदेखि शिक्षा, स्वास्थ्य र खानेपानीसमेतमा स्थानीय तहले महत्वपूर्ण काम गरेको छ। आज सडक सञ्जाल गाउँगाउँ पुगेको छ, खानेपानीका समस्या समाधान हुँदै आएका छन्। तर संघीयताको अभ्यास दोस्रो कार्यकालमा मात्रै भइरहेको छ। एकैपटक सबै समस्या समाधान नहुने भएकाले देखिएका चुनौतीहरू सम्बोधन गर्दै स्थानीय सरकारलाई अझ सक्षम बनाउनुपर्छ।”

उनले सबै तहका सरकारले आफ्नो कार्यक्षेत्र, अधिकार र जिम्मेवारीको पूर्ण पालना गर्न सकेमा मात्रै संविधानको सफल कार्यान्वयन सम्भव हुनेमा जोड दिइन् ।