बहराइनस्थित अमेरिकी सैन्य राडारमा सफल ड्रोन आक्रमण गरिएको इरानको दाबी


काठमाडौँ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आइआरजिसी)ले आफ्नो वायुसेनाले बहराइनको रिफा एयर बेस भित्र रहेको अमेरिकी हवाई प्रतिरक्षा प्रणालीको राडारलाई आक्रमण गरेको जनाएको छ ।

६ ओटा ड्रोनमार्फत सफलतापूर्वक निशाना बनाएको दाबी गरेको आइआरजिसीको दाबी छ । यो जानकारी आइआरजिसी निकट समाचार संस्था फार्स न्युज एजेन्सीले सार्वजनिक गरेको हो ।

बहराइनको गृह मन्त्रालयले पछिल्ला केही घण्टायता सम्भावित सुरक्षा खतराबारे चेतावनी जारी गर्दै नागरिकहरूलाई सुरक्षित आश्रयस्थलमा जान आग्रह गरे लगत्तै इरानको यो दाबी आएको हो ।

फार्सले प्रकाशित गरेको वक्तव्यमा आइआरजिसीले होर्मुज जलमार्ग अझै बन्द रहेको दाबी गरेको छ । साथै, अमेरिकाले उक्त समुद्री मार्गबाट जहाजहरूलाई सुरक्षित रूपमा आवतजावत गराउन असफल भएको आरोप पनि लगाएको छ ।

वक्तव्यमा अमेरिकाबाट हुने कुनै पनि आक्रामक कदमको जवाफ अझ “कडा र विनाशकारी“ ढङ्गले दिने चेतावनीसमेत दिइएको छ । यद्यपि, अमेरिकी सैन्य कमाण्ड सेन्ट्रल कमाण्डले हालसम्म इरानको यस दाबीबारे कुनै आधिकारिक प्रतिक्रिया जनाएको छैन । यो समाचार स्वतन्त्र रूपमा पुष्टि भइसकेको छैन र घटनाबारे थप विवरण तथा आधिकारिक पुष्टि आउन बाँकी छ।