काठमाडाैँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालको हिमाल औसतभन्दा दोब्बर गतिमा तातिरहेको कारण हिमनदी, जैविक विविधता र करोडौं मानिसको जीवन जोखिममा परेको चेतावनी दिएका छन्।
शनिबार काठमाडौँमा आयोजित दक्षिण एशियाली क्षेत्रीय संवादलाई सम्बोधन गर्दै मन्त्री ठकुरीले दक्षिण एशियामा फोहर खुला रूपमा जलाउने प्रथा अन्त्य गर्न रूपान्तरणात्मक कदम आवश्यक रहेको बताएका हुन्। उनले यो प्रथा जलवायु संकट र प्रदूषणको मुख्य तर प्रायः बेवास्ता गरिएको विषय भएको भन्दै यसतर्फ सरोकारवालाको ध्यानाकर्षण गरे ।
मन्त्री ठकुरीले पेरिस सम्झौताअन्तर्गत नेपालले कार्बन उत्सर्जन घटाउने, नवीकरणीय ऊर्जा विस्तार गर्ने, विद्युतीय यातायात प्रवर्द्धन गर्ने र दिगो वन सुदृढ गर्ने प्रतिबद्धता जनाएको स्मरण गर्दै खुला रूपमा फोहर जलाउने प्रथा अन्त्य गर्नु अनिवार्य रहेको उल्लेख गरे।
उनले भने, “हामी जलवायुजन्य विपद् र प्रदूषणको उच्चतम् जोखिममा छौं। फोहर खुला रूपमा जलाउने कार्यले शहर र गाउँको वायु प्रदूषण बढाउने मात्र होइन, ब्ल्याक कार्बनजस्ता छोटो अवधिका प्रदूषक उत्सर्जन गरी हिमालको हिउँ पग्लिने दरलाई समेत तीव्र बनाइरहेको छ। नेपालका हिमाल औसतभन्दा दोब्बर गतिमा तातिरहेका छन्, जसले हिमनदी, जैविक विविधता र करोडौं मानिसको जीवनलाई गम्भीर संकटमा पारेको छ।”
उनले शून्य फोहर र परिचक्रिय अर्थतन्त्रको सिद्धान्तलाई सरकारले अघि बढाइरहेको दाबी गर्दै जैविक विविधता संरक्षण, वातावरणीय संरक्षण र जलवायु संकट न्यूनीकरणका लागि सरकार सक्रिय रहेको पनि स्पष्ट पारे।
प्रतिक्रिया दिनुहोस्