लिबर्टी माइक्रो लाइफको नाफा ८४ प्रतिशतले घट्यो,बीमाशुल्क र कोषमा भने उत्साहजनक वृद्धि


काठमाडौँ । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमास (साउन–असोज) को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको व्यापार र कोषको आकारमा उल्लेख्य वृद्धि देखिए पनि खुद नाफामा भने भारी गिरावट आएको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कम्पनीले जम्मा ३ लाख ४६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कम्पनीले २१ लाख ६६ हजार रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा ८४.०३ प्रतिशतले घटेको हो ।

नाफामा सङ्कुचन आए पनि कम्पनीको मुख्य व्यवसाय अर्थात् बीमाशुल्क आर्जन भने आक्रामक देखिएको छ । समीक्षा अवधिसम्म कम्पनीले १६ करोड ८७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको ११ करोड ३६ लाख रुपैयाँको तुलनामा ४८.५० प्रतिशतले बढी हो । त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आर्जन पनि ५५.१० प्रतिशतले बढेर १४ करोड ७५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीले ९ करोड ५१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीको जीवन बीमा कोषको आकारमा झन्डै दोब्बर वृद्धि देखिएको छ । अघिल्लो वर्ष २६ करोड ७० लाख रुपैयाँ रहेको जीवन बीमा कोष ९६.१० प्रतिशतले बढेर चालु वर्षको असोजसम्म ५२ करोड ३६ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको जगेडा तथा कोषहरूको अवस्था हेर्दा समीक्षा अवधिसम्म महाविपत्ति कोषमा ९ लाख १ हजार रुपैयाँ, रिटेन्ड अर्निङमा ६३ लाख ८९ हजार रुपैयाँ र अन्य इक्विटीमा १ करोड ८१ लाख रुपैयाँ सञ्चित रहेको छ ।

अघिल्लो वर्षको असार मसान्तसम्म कम्पनीको महाविपत्ति कोषमा ८ लाख ६६ हजार रुपैयाँ, रिटेन्ड अर्निङमा ६० लाख ८१ हजार रुपैयाँ र अन्य इक्विटीमा १ करोड ८१ लाख रुपैयाँ रहेको थियो ।