काठमाडौँ । करिब ६९ करोड रुपैयाँ बैंक कर्जा लिएर काठमाडौँको बानेश्वरमा स्थापित ग्लोबल कलेज अफ टेक्नोलोजी प्रालिले शैक्षिक कार्यक्रम सञ्चालनमा ढिलाइ हुँदा गत आर्थिक वर्षसम्म ‘फुटसल मैदान’ भाडामा लगाएर मुख्य आम्दानी गर्दै आएको देखाएको छ ।
क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले अक्टोबर २०२६ मा सार्वजनिक गरेको रेटिङ प्रतिवेदनअनुसार सम्बन्धन र अनुमति प्रक्रियामा भएको ढिलाइका कारण कलेजको शैक्षिक सत्र समयमै सुरु हुन नसक्दा कम्पनीको वित्तीय अवस्था दबाबमा देखिएको हो । इन्फोमेरिक्स नेपालले कम्पनीको ६८ करोड ८४ लाख ४० हजार रुपैयाँ (६८८.४४ मिलियन) बराबरको दीर्घकालीन बैंक कर्जाका लागि पुरानै ‘आइआरएन बी प्लस’ रेटिङलाई निरन्तरता दिएको छ ।
करिब ६९ करोड बैंक ऋण लिएको ग्लोबल कलेज अफ टेक्नोलोजीको मुख्य आम्दानी फुटसल भाडा देखिएको छ भने सञ्चालन नाफा र नेटवर्थ दुवै ऋणात्मक रहेको छ
बेलायतको युनिभर्सिटी अफ हडर्सफिल्डसँगको सम्बन्धनमा स्नातक तहका कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले सन् २०२० डिसेम्बर २४ मा स्थापना भएको यस कलेजले आर्थिक वर्ष सन् २०२५ र २०२६ मा शैक्षिक शुल्कबाट कुनै आम्दानी गर्न सकेन ।
प्रतिवेदनअनुसार कम्पनीले आर्थिक वर्ष २०२४ र २०२५ मा २ करोड ४० लाख रुपैयाँ तथा आर्थिक वर्ष २०२६ मा २ करोड ६० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ, जुन पूर्ण रूपमा फुटसल ग्राउन्ड भाडाबाट प्राप्त भएको हो । शैक्षिक गतिविधि सुरु नहुँदै भवन भाडा, प्राध्यापक तथा कर्मचारी भर्ना र बैंकको भारी ब्याज खर्च बेहोर्नुपर्दा आर्थिक वर्ष २०२६ मा कम्पनीको सञ्चालन नाफा र नेटवर्थ दुवै ऋणात्मक बन्न पुगेको छ ।
यद्यपि, लामो प्रतीक्षापछि कलेजले सन् २०२६ सेप्टेम्बरदेखि स्नातक तहमा भर्ना प्रक्रिया सुरु गरिसकेको छ अक्टोबर २०२६ सम्ममा ८० जना विद्यार्थी भर्ना भइसकेका छन् भने आगामी सन् २०२७ जनवरी (पुस–माघ) देखि नियमित कक्षा सञ्चालन गर्ने तालिका रहेको प्रतिवेदनमा उल्लेख छ । कक्षा सञ्चालनमा आएसँगै कलेजको आम्दानीमा सुधार आउने अपेक्षा गरिएको छ ।
वित्तीय सूचक कमजोर रहे पनि बलियो व्यावसायिक समूहको स्वामित्व र लगानीका कारण कलेजले ऋणको दायित्व धानिरहेको छ । ग्लोबल कलेज अफ टेक्नोलोजीको शतप्रतिशत सेयर स्वामित्व युनिग्लोब हायर सेकेन्डरी स्कुल काठमाडौंसँग रहेको छ, जसमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको करिब ४७ प्रतिशत मुख्य सेयर हिस्सा रहेको छ।
शिक्षा क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव सङ्गालेका अर्थशास्त्री डा. खगेन्द्रप्रसाद ओझाको अध्यक्षतामा रहेको सञ्चालक समितिले कलेजको नेतृत्व गरिरहेको छ । कलेजको आफ्नै आम्दानीले ऋणको साँवा र ब्याज तिर्न नपुग्ने अवस्था आएपछि मुख्य प्रवर्धक कम्पनीले निब्र्याजी वित्तीय सहायता उपलब्ध गराएर बैंकको किस्ता तिरिरहेको प्रतिवेदनमा उल्लेख छ ।
आगामी दिनमा समयमै शैक्षिक कार्यक्रम सुरु गरी विद्यार्थी सङ्ख्या बढाउन र ऋणात्मक रहेको पुँजी संरचना सुधार गर्न सकेमा मात्र कम्पनीको वित्तीय स्वास्थ्य सबल हुने विश्लेषण इन्फोमेरिक्स नेपालको छ ।


प्रतिक्रिया दिनुहोस्