शीतलनिवास लगायतका मुख्य क्षेत्रमा पनि थपियो कर्फ्यु


काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले आज कर्फ्यू आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारीको आदेशअनुसार आज अपरान्ह १ बजेदेखि राति १० बजेसम्म काठमाडौँ महानगरपालिकाभित्रका संवेदनशील क्षेत्रहरूमा कर्फ्यू लागू हुने भएको हो।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) अनुसार जारी गरिएको आदेशअनुसार तोकिएको सीमा भित्र कुनै पनि व्यक्तिले आवतजावत गर्न, सभा, जुलुस, प्रदर्शन, बैठक वा कुनै किसिमका गतिविधि सञ्चालन गर्न पाउने छैनन्।

कर्फ्यू शीतल निवास आसपास, हरित गृह क्षेत्र, नारायणहिटी दरबार संग्रहालय परिसर र सिंहदरबार क्षेत्र वरपर लागू हुनेछ। शीतल निवासतर्फ महाराजगंजको प्रहरी प्रशिक्षण प्रतिष्ठान अगाडिबाट सामाखुशी खोलासम्मको क्षेत्र बन्द हुनेछ भने हरित गृह वरपर लैनचौर मोडदेखि मल्ल होटलसम्मको क्षेत्रमा प्रतिबन्ध लगाइने छ।

त्यस्तै, नारायणहिटी दरबार संग्रहालय दक्षिण गेट वरपर जय नेपाल मोड हुँदै महेन्द्र सालिकसम्मको क्षेत्र कर्फ्यूको दायरामा पर्नेछ। सिंहदरबार क्षेत्रभित्र भद्रकाली मन्दिर, सर्वोच्च अदालतदेखि पुरातत्व विभागको चोकसम्म र सिंहदरबारका पूर्व, उत्तर तथा दक्षिणतर्फका सीमामा पनि कर्फ्यू लागु हुनेछ।

प्रशासनले शान्ति सुरक्षा कायम गर्नका लागि तोकिएको समयमा जारी आदेशको पालना गर्न सम्पूर्ण नागरिकलाई आग्रह गरेको छ।