काठमाडाैँ । नेपाल स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले जेनजीले हिजाे आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनमा सरकारले गरेको दमनप्रति आपत्ति जनाएको छ । प्रदर्शनका क्रममा १९ जना किशोरकिशोरीको ज्यान जानुका साथै सयौं घाइते भएको घटनाप्रति इप्पानले दुःख प्रकट गर्दै निर्मम बल प्रयोगको घोर निन्दा गरेको हो ।
इप्पानले विज्ञप्ति जारी गर्दै ऊर्जा क्षेत्रमा आवद्ध उद्यमीहरूले वार्षिक साढे ३ अर्ब रुपैयाँ रोयल्टीसहित १० अर्ब रुपैयाँभन्दा बढी कर तिर्दै आएको उल्लेख गरेको छ । हजारौं नेपालीलाई रोजगारी प्रदान गर्दै आएका ऊर्जा आयोजनामा निरन्तर प्रहार, भ्रष्टाचार र कुशासनका कारण युवापुस्तामा चरम निराशा उत्पन्न भई सडकमा पोखिएको ठहर पनि विज्ञप्तिमा गरिएको छ ।
राजा ज्ञानेन्द्रको शासनकालमा २०६२/६३ को जनआन्दोलनमा १९ दिनमा १९ जनाको ज्यान गएपछि लोकतन्त्र फर्किएको ऐतिहासिक प्रसंग स्मरण गर्दै इप्पानले लोकतान्त्रिक सरकारले भने एकै दिन १९ जनाको ज्यान जाने गरी बल प्रयोग गर्नु अत्यन्त खेदजनक भएको जनाएको छ । किशोरकिशोरीहरूको शान्तिपूर्ण प्रदर्शनलाई गोली चलाएर दमन गर्नु संविधान उल्लंघन भएको इप्पानको आरोप छ ।
इप्पानले भ्रष्टाचार अन्त्य, जवाफदेहिता र नागरिक स्वतन्त्रताका मागहरू जायज रहेको बताउँदै त्यसलाई सम्बोधन गर्न सरकारसँग माग गरेको छ । साथै, मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न र घटनाको सत्यतथ्य छानबिन गर्न पनि इप्पानले आग्रह गरेको छ ।
विज्ञप्तिमा मृतक परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । साथै, नजिकका अस्पतालमा उपचाररत घाइतेहरूलाई सहयोग गर्न ऊर्जा उद्यमीहरूलाई पनि अपिल गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्