काठमाडाैँ । चौधरी ग्रुप (सीजी) का प्रबन्ध निर्देशक निर्वाण चौधरीले हालै कम्पनीमाथि भएका आक्रमण, क्षति र संकटपछिको अवस्थाबारे सन्देश सार्वजनिक गरेका छन्।
उनले केही दिनयता समूहले झेलेको पीडालाई कम्पनीको इतिहासकै सबैभन्दा पीडादायी क्षण भन्दै वर्णन गरेका छन्। युवाद्वारा सुरु भएको उत्तरदायित्व र परिवर्तनको मागलाई असामाजिक तत्व र बाह्य शक्तिले अपहरण गरेर हिंसा, लूटपाट र विनाशमा परिणत गरेको उनले बताएका छन्।
चौधरीले आफ्ना परिवारका घरमा आक्रमण भएको, कार्यालय, उद्योग र शो–रूम जलाइएको र लुटिएको उल्लेख गर्दै दशौँ वर्षको मेहनत, समर्पण र प्रतिबद्धतालाई केही घण्टामै खरानी बनाइयो भनेका छन्। तर यस्तो अन्धकारमय क्षणमा पनि सीजी परिवारको वास्तविक आत्मा प्रकट भएको उनको भनाइ छ।
उनले संकटका बिचमा पनि आफ्नो काम छोडेर भाग्नुभन्दा सुरक्षाको जोखिम मोलेर सम्पत्ति जोगाउने, ग्राहकलाई निराश नबनाउने र समूहको जिम्मेवारी निभाउने कर्मचारी र नेतृत्वलाई धन्यवाद व्यक्त गरेका छन्।
“हो, हामी घाइते छौं। हो, हामी हल्लिएका छौं। तर हामी भाँचिएका छैनौं,” चौधरीले भनेका छन्, “दुश्मनहरूले भवन जलाउन सक्छन्, तर हाम्रा सपना जलाउन सक्दैनन्। उनीहरूले शो–रूम लुट्न सक्छन्, तर हाम्रो मूल्य लुट्न सक्दैनन्।”
उनले चौधरी समूह नेपालकै सबैभन्दा ठूलो करदाता, रोजगारी दिने संस्थामध्ये एक र राष्ट्रनिर्माणमा अग्रणी रहेको उल्लेख गर्दै भूकम्प, बाढी वा महामारी जस्ता हरेक संकटमा जनताको छेउमा उभिएको कुरा स्मरण गराएका छन्।
“हाम्रो दायित्व हल्लिएको छैन। हाम्रो उद्देश्य हराएको छैन। हामी पुनःनिर्माण गर्नेछौं, पुनःउत्थान गर्नेछौं र अझ बलिया भएर अघि बढ्नेछौं,” चौधरीले सन्देशमा भनेका छन्।
प्रतिक्रिया दिनुहोस्