६ घण्टाभित्र सडक खुलाउने तयारी, चाडपर्वमा सहज यातायातको आश्वासन


काठमाडाैँ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले अवरुद्ध भएका सडकहरू विशेष परिस्थितिबाहेक ६ घण्टाभित्र सञ्चालनमा ल्याउनेगरी काम अगाडि बढाइएको जानकारी दिएका छन् ।

शनिवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको अध्यक्षतामा बसेको बैठकमा सचिव शर्माले चाडपर्वलाई लक्षित गरेर यातायात सहज बनाउन सडक विभाग सक्रिय रहेको बताए ।

उनका अनुसार हालको वर्षा र पहिरोका कारण पृथ्वी राजमार्ग तथा मुग्लिङ–नारायणगढ सडकखण्डको तुइन खोलामा आवागमन रोकिएको छ । राति ढुंगा खस्दा सडक अवरुद्ध भएको र बिहान फेरि सुख्खा पहिरो खसेको उनको भनाइ छ । सक्रिय रूपमा पहिरो झर्दा काम रोक्नुपरेको भए पनि सडक विभागको टोली घटनास्थल पुगेको र अवस्था अनुकूल भएलगत्तै काम सुरु गर्ने तयारी भएको जानकारी दिए ।

“अत्यन्तै अप्ठ्यारो परिस्थितिबाहेक हामीले सुरु गरेको ४ देखि ६ घण्टाभित्र सडक खुलाउने लक्ष्य लिएका छौँ,” सचिव शर्माले भने। उनका अनुसार विभागले मेसिनरी र उपकरणलाई आधा घण्टादेखि एक घण्टाभित्र घटनास्थलमा पुग्ने गरी परिचालन गरेको छ ।

बैठकमा मन्त्री घिसिङले चाडपर्वमा यातायात सहज बनाउन आन्तरिक छलफलपछि समस्या समाधान गर्ने प्रतिबद्धता जनाए । यस अवसरमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँर र वरिष्ठ उपाध्यक्ष सरोज सिटौलासहितका प्रतिनिधिहरूले हालको विपरीत परिस्थितिमा रातमा चल्ने बसलाई दिउँसो सञ्चालन गर्न माग गरेका थिए । बैठकमा सडक विभाग, गृह मन्त्रालय,नेपाल ट्रक यातायात व्यवसायी महासंघ लगायतका सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।