काठमाडौँ । गोरखास्थित पाङबारी हिमालमा पाँच दिनदेखि बेपत्ता रहेका दुई इटालियन आरोहीको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार ६७ वर्षीय स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्सान्द्रो गापुटोको शव पाङबारी हिमालको पहिलो शिविरमा हिउँले पुरिएको अवस्थामा भेटिएको हो।
श्रेष्ठका अनुसार दुवै जनाको शव हेलिकोप्टरमार्फत सामागाउँ ल्याइएको छ।
गत बुधबारदेखि तीन जना इटालियन नागरिक र एक नेपाली सहयोगी पाङबारी हिमालबाट फर्कने क्रममा पहिलो शिविर र आधार शिविरबीच अलपत्र परेका थिए। फरिनातो र गापुटो हिमाल आरोहण गर्न नसकी फर्कने क्रममा अचानक परेको हिमपातका कारण बेपत्ता भएको बताइएको छ।
उनीहरूसँगै अलपत्र परेका इटालियन नागरिक ६५ वर्षीय भेल्टर परलिनोलाई गत आइतबार हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो।
परलिनोसँगै रहेका नेपाली नागरिक पेम्बा रेञ्जी शेर्पा, दावा छिरी शेर्पा र पासाङ तामाङलाई पनि सोही दिन उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए।




प्रतिक्रिया दिनुहोस्