सीसीटिभी क्यामरा नेटवर्कका लागि काठमाडौँ महानगरपालिकाबाट नेपाल टेलिकमसँग सम्झौता 


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रमा जडान हुने सीसीटिभी क्यामराका लागि आवश्यक नेटवर्क सेवा नेपाल टेलिकममार्फत सञ्चालन गर्ने भएको छ ।

यसका लागि महानगरपालिका र टेलिकमबिच शुक्रबार काठमाडौँ प्लाजामा एक वर्षे सम्झौता भएको छ । सम्झौतामा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र टेलिकम प्रादेशिक कार्यालय वागमतीका निर्देशक इन्दल यादवले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार नेपाल टेलिकमले काठमाडौँ महानगरपालिका र त्यसअन्तर्गतका वडा कार्यालयहरूको सीसीटिभी नेटवर्कका लागि अप्टिकल फाइबर नेटवर्क, एफटीटीएच (फाइबर टु द होम) मार्फत लोकल इन्ट्रानेट सेवा उपलब्ध गराउनेछ । साथै, टेलिकमले नियमित मर्मत सम्भार, आकस्मिक क्षति पुनःस्थापना, प्राविधिक सहायता, सेवा विस्तार, आकस्मिक अवस्थाका लागि संरचना व्यवस्थापन, नेटवर्क निगरानी, सेवा अवरोध पहिचान तथा समाधानका लागि आवश्यक सेवा पनि प्रदान गर्नेछ ।

सीसीटिभी क्यामरा, राउटरलगायतका उपकरण महानगरपालिकाले उपलब्ध गराउनेछ भने टेलिकमले भविष्यमा आवश्यक उच्च गतिको व्याण्डविथ उपलब्ध गराउने तथा प्रविधि अद्यावधिक गर्ने व्यवस्था गर्नेछ । महानगरपालिकाले सेवा विस्तार गर्न चाहेमा टेलिकमले त्यसका लागि आवश्यक अप्टिकल फाइबर सञ्जाल विस्तार गर्नेछ ।

सम्झौता कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले प्रविधिको प्रभावकारी प्रयोगमार्फत सहरलाई सुरक्षित र स्मार्ट बनाउन यो सहकार्य महत्वपूर्ण भएको बताए । उनले अन्तरसरकारी समन्वय र सहकार्यका माध्यमबाट नतिजामूलक सेवा उपलब्ध हुने विश्वास व्यक्त गरे । “महानगरपालिकाको सेवाका लागि छुट्टै संयन्त्रबाट काम हुने अपेक्षा गरेका छौँ,” गुरागाईँले भने।

त्यस अवसरमा टेलिकमका निर्देशक यादवले महानगरपालिकाको आवश्यकता र अपेक्षा पूरा गर्न सक्षम संयन्त्र निर्माण गरिने प्रतिवद्धता व्यक्त गरे।

सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपालका अनुसार टेलिकमसँग पहिले नै अप्टिकल फाइबर सञ्जाल रहेकाले महानगरपालिकाले यसअघि जडान गरिएका सीसीटिभीका दृश्यहरू तत्कालै प्राप्त गर्न सक्नेछ ।

टेलिकमले सीसीटिभी क्यामराले कैद गरेका दृश्यहरू महानगरपालिकाले सञ्चालन गर्ने निगरानी कक्ष (सर्भलेन्स रुम) मा पुर्‍याउने जिम्मेवारी लिनेछ । प्रणालीमा हाल सञ्चालनमा रहेका, नियमित तथा क्रमागत योजनामार्फत जडान गरिएका, वडा तथा विभाग स्तरका मागअनुसार जडान गरिएका र आगामी चरणमा जडान गरिने सबै सीसीटिभीहरू जोड्न सकिनेछ । प्राप्त दृश्यहरूको गोपनीयता कायम राख्ने जिम्मेवारी भने महानगरपालिकाकै हुनेछ ।

काठमाडौँलाई स्वचालित, सुरक्षित र व्यवस्थित सहरको रूपमा विकास गर्न प्रविधिमा आधारित प्रणाली विस्तारका क्रममा गरिएको यो सम्झौता अन्तर्गत महानगरपालिका, वडा कार्यालय तथा सार्वजनिक स्थलहरूमा जडान गरिने सीसीटिभी नेटवर्कमा जिगाबिट प्यासिभ अप्टिकल नेटवर्क प्रविधि प्रयोग गरिनेछ ।