नेपालमा अधिनायकवाद सुरु भयो, देशलाई द्वन्द्वतर्फ लैजान खोजिँदैछ : ओली


काठमाडाैँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अधिनायकवाद सुरु भएको दाबी गरेका छन्।

आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै ओलीले बंगलादेश र म्यानमारका उदाहरण दिँदै नेपालमा पनि चुनाव टार्ने, लोकतन्त्र कमजोर पार्ने र अधिनायकवादी प्रवृत्ति अघि बढाइँदै गरेको बताएका हुन्।

“अधिनायकवाद सुरु हुने देशहरूमा छिट्टै चुनाव गराउने भन्ने घोषणा त हुन्छ, तर अन्ततः मिति सार्दै लगिन्छ।” ओली भने, “म्यानमारमा भनियो, फलानो मितिमा चुनाव हुन्छ। ६ वर्ष भयो, चुनाव भएको छैन। बंगलादेशमा पनि ६ महिनाभित्र चुनाव हुन्छ भन्दा डेढ वर्ष बित्यो, अब फेब्रुअरीमा पनि हुने देखिँदैन। यही सिलसिला नेपालमा पनि दोहोर्‍याउन खोजिएको हो।”

उनका अनुसार, यस्तो प्रवृत्तिले देशलाई पुनः द्वन्द्व, तनाव र पारस्परिक घृणातर्फ धकेल्दैछ। ओलीले चेतावनी दिए, “यो राष्ट्रका निम्ति अनिष्टकारी परिस्थिति हो। यस्तो अवस्था लामो समय रहन दिनु हुँदैन।”

अध्यक्ष ओलीले जेन–जेड पुस्ताको नाममा मुलुकलाई द्वन्द्वतर्फ फसाउने प्रयास भइरहेको पनि दोहोर्‍याए। उनले भने, “नयाँ पुस्ताको नाममा द्वेष फैलाउने र अस्थिरता निम्त्याउने खेल सुरु भएको छ। हामी त्यसलाई रोक्नका लागि लागिपरेका छौं।”

एमाले अध्यक्षको भनाइअनुसार, वर्तमान राजनीतिक प्रवृत्ति देशलाई सहमति र स्थायित्वको बाटोबाट हटाउँदै अधिनायकवादको दिशातर्फ धकेल्ने संकेत हो।