काठमाडाैँ । हालैको बेमौसमी तथा अविरल वर्षाबाट स्याङ्जाकाे भीरकोट नगरपालिकाका किसानहरू सङ्कटमा परेका छन्। खेतमा पाकेका र काटिएका धानबाली डुवानमा परेपछि स्थानीय किसानको वर्षभरको मेहनत नष्ट भएको छ। यसै सन्दर्भमा नेपाली काँग्रेस भीरकोट नगर कार्यसमितिले नगर प्रमुखलाई ज्ञापनपत्र बुझाउँदै किसानको पिडा सम्बोधन गर्न तत्काल पहल गर्न आग्रह गरेको छ।
नेपाली काँग्रेस भीरकोट नगर समितिका सभापति यामप्रसाद अधिकारी (लक्ष्मण) ले हस्ताक्षर गरेको ज्ञापनपत्रमा नगरका विभिन्न वडामा धानबालीमा ठूलो क्षति पुगेको उल्लेख गरिएको छ। खेतमै कुहिएको धान र नष्ट भएको बालीका कारण किसानहरू आर्थिक रूपमा असहाय बनेका भन्दै ज्ञापनपत्रमा नगरपालिकाले तात्कालिक राहत र दीर्घकालीन पुनःस्थापनाका उपायहरू ल्याउनुपर्ने माग गरिएको छ।
ज्ञापनपत्रमा नगरपालिकालाई चार बुँदे मागसमेत गरिएको छ। काँग्रेस नगर समितिले कृषि नै प्रमुख जीविकोपार्जनको माध्यम भएको नगरमा वर्षाको यो विपद्ले किसान परिवारको जीवनयापनमा प्रत्यक्ष असर पारेको उल्लेख गर्दै नगरपालिकाले शीघ्र राहत र पुनःस्थापनाको कार्यक्रम ल्याउन आग्रह गरेको छ। समितिले किसानको पक्षमा सधैं उभिने प्रतिबद्धता जनाउँदै राहत तथा पुनःस्थापना प्रयासमा सहकार्य गर्न तयारी रहेको जनाएको छ।




प्रतिक्रिया दिनुहोस्