काठमाडाैँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा नेपाल राष्ट्र बैंकले ‘क’ वर्गका दुई बैंकलाई कारबाही गरेको छ । बैंकले कुमारी बैंक र प्राइम कमर्सियल बैंकलाई कारबाही गरेको हो ।
राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले प्रकाशित विवरणअनुसार कुमारी बैंक लिमिटेडले एकीकृत निर्देशन २०८१ अन्तर्गतको इ.प्रा. निर्देशन नं. १२/०८१ को व्यवस्था उल्लङ्घन गरेको पाइएको हो।
सो निर्देशनको बुँदा नं. ९ को उपबुँदा नं. २ (ङ)(५) अनुसार कालोसूचीमा रहेका व्यक्ति, फर्म, कम्पनी वा संस्थाले कालोसूचीबाट फुकुवा नभएसम्म कुनै पनि किसिमको बैंकिङ कारोबार गर्न नपाउने प्रावधान छ। तर कुमारी बैंकले उक्त प्रावधानको पालना नगरेकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा १ (क) बमोजिम बैंकलाई सचेत गराइएको हो।
त्यसैगरी, प्राइम कमर्सियल बैंक लिमिटेडमाथि पनि बैंकिङ नियमन उल्लङ्घनको कारण कारबाही गरिएको छ। निरीक्षणका क्रममा उक्त बैंकले एकीकृत निर्देशन २०८१ को इ.प्रा. निर्देशन नं. २/०८१ अन्तर्गतका केही महत्त्वपूर्ण प्रावधानहरूको पालना नगरेको पाइएको हो।
राष्ट्र बैंकका अनुसार प्राइम बैंकले केही कर्जाहरुलाई भाखा नाघेको अवधिको आधारमा वर्गीकरण नगरेको, केहीमा कर्जा नोक्सानी व्यवस्था कायम नगरेको र जोखिम भार गणनामा क्यापिटल एडिक्युसी फ्रेमवाेर्क, २०१५ अनुसारको मापदण्ड पालना नगरेको तथ्य फेला परेको हो।
यी कमजोरीका कारण नेपाल राष्ट्र बैंकले प्राइम कमर्सियल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० उपदफा २ को खण्ड (क) बमोजिम सचेत गराएको छ।
राष्ट्र बैंकले नियमित अनुगमन र निरीक्षणमार्फत बैंक तथा वित्तीय संस्थाहरूको नियामक अनुपालन अवस्थालाई निरन्तर मूल्याङ्कन गर्दै आएको छ।



प्रतिक्रिया दिनुहोस्