पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्ती केन्द्र बनाउने प्रवृत्तिलाई रोक्नुपर्छः प्रधानमन्त्री कार्की


काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्ती केन्द्र बनाउने प्रवृत्तिलाई रोक्नुपर्ने बताएकी छन्।

सोमबार कोषको सञ्चालक परिषद्को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले धार्मिक संस्थामा धार्मिक आस्था र मूल्यमा आधारित व्यक्ति आवश्यक हुने भन्दै राजनीतिक कार्यकर्ता नियुक्ति गर्ने प्रवृत्ति अनुचित भएको टिप्पणी गरिन्।

उनले भनिन्, “धार्मिक संस्थाका आफ्ना नियम, मूल्य र परम्परागत मान्यताहरू हुन्छन्। ती हाम्रा मौलिक संस्कृतिका अंग हुन्। संसारभरिका हिन्दूहरूको आस्था जोडिएको स्थल हो पशुपतिनाथ, त्यसैले यस्तो संस्थामा राजनीतिको छायाँ पर्नु हुँदैन। दलीय कार्यकर्ताको भर्ती केन्द्र बनाउनु गलत हो। यहाँ काम गर्ने व्यक्ति धार्मिक आस्थावान् हुनुपर्छ।”

कार्कीले पशुपति क्षेत्र विकास कोष जस्तो संस्थाले धार्मिक आस्था र सांस्कृतिक मूल्यको संरक्षणमा ध्यान दिनुपर्ने बताउँदै राजनीतिक स्वार्थको प्रभावबाट यसलाई मुक्त राख्न सबैलाई आग्रह गरिन्।

पशुपति क्षेत्र विकास कोषको सञ्चालन तथा रेखदेखका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षतामा सञ्चालक परिषद् रहने कानुनी व्यवस्था रहेको छ।