एमाले आज ७५३ ओटै पालिकामा जनप्रदर्शन गर्दै


काठमाडाैँ । नेकपा (एमाले) ले आज देशभरका सबै ७५३ वटै स्थानीय तहमा जनप्रदर्शन कार्यक्रम सञ्चालन गर्दैछ । पार्टीको “जनपरिचालन कार्यक्रम” अन्तर्गत आजको प्रदर्शनलाई प्रतिगामी षड्यन्त्रका विरुद्धको जनउठानका रुपमा प्रस्तुत गरिएको छ ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार मंगलबार बसेको बैठकले वडा, पालिका, जिल्ला र राष्ट्रिय स्तरमा जनप्रदर्शन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार देशभर आज एकैसाथ प्रदर्शन भइरहेको हो ।

उनका अनुसार यसअघि २२ गते देशका सबै ६ हजार ७ सय ४३ वटै वडामा वडा भेलाहरु सम्पन्न भइसकेका छन् । ती भेलाहरूमा भदौ २४ पछि विकसित राजनीतिक घटनाक्रम, संसदको ‘गैरसंवैधानिक विघटन’ र पार्टीको आगामी राजनीतिक दिशा सम्बन्धी विषयमा कार्यकर्ताहरूलाई अवगत गराइएको थियो ।

आजको कार्यक्रममा कतिपय पालिकाहरूले मोटरसाइकल र्यालीमार्फत शक्ति प्रदर्शन गर्ने तयारी गरेका छन् भने कतिपय ठाउँमा नारा–जुलुससहितका कार्यक्रमहरू आयोजना गरिएको छ । गौतमका अनुसार पार्टी केन्द्रले “जनतालाई जगाउने” नाराहरू तय गरेको छ ।

जनप्रदर्शनलाई भव्य बनाउन हरेक सहभागीलाई एमालेको झण्डा सहित उपस्थित हुने, घना बस्ती भएका क्षेत्रमा प्रदर्शन गर्ने, अन्त्यमा छोटो कोणसभा आयोजना गर्ने र कोणसभामा वर्तमान राजनीतिक अवस्थाबारे स्पष्ट पार्ने निर्देशन दिइएको छ ।

एमालेले आजको जनप्रदर्शनलाई कात्तिक २९ गते हुने जिल्ला स्तरीय आमसभा, मंसिर ६ गते काठमाडौंमा आयोजना हुने ठूलो जनप्रदर्शन र आगामी महाधिवेशनको प्रचारको तयारीको रुपमा पनि लिएको जनाएको छ ।