जेनजी आन्दोलनका क्रममा भएका क्षतिको एकीकृत विवरण तयार पार्न प्रधानमन्त्री कार्कीकाे निर्देशन


काठमाडाैं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा भएका क्षतिको एकीकृत विवरण तयार पार्न निर्देशन दिएकी छिन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका निकायहरूको आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित कार्यक्रमहरूको प्रथम त्रैमासिक अवधिको प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन क्षतिको एकीकृत विवरणको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार गर्न निर्देशन दिएकी हुन् ।

चालु आर्थिक वर्षको समीक्षा अवधिसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायहरूको खर्च प्रतिशत सन्तोषजनक नदेखिएको भन्दै चालु आर्थिक वर्षको बाँकी अवधिमा सम्बन्धित सबै निकायका प्रमुखले आ–आफूले सम्पादन गर्नुपर्ने कार्यलाई प्राथमिकता दिनसमेत उनले निर्देशन दिएकी छिन् । आन्दोलनको समयमा भएको तोडफोड र आगजनीबाट सार्वजनिक संरचना तथा सम्पतीमा भएको क्षतिको कारण लगायतबाट समीक्षा अवधिमा सम्पन्न गर्नुपर्ने कतिपय काम कारवाहीहरूसमेत प्रभावित भएको उनले बताइन ।

जेन–जी आन्दोलनको भावना र मर्म बमोजिम सेवाग्राहीमैत्री सेवा, जनआकाङ्क्षा अनुरूप सेवाप्रवाह गर्न उच्च मनोवलका साथ चालु आर्थिक वर्षको लागि तय भएका निर्धारित लक्ष्यहरू हासिल गर्नेगरी कार्यसम्पादन गर्न निर्देशन दिएकी छिन् । 

चालु आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रम, कार्ययोजना एवम् तय गरिएका माइलस्टोन बमोजिम निर्धारित समय सीमाभित्र तोकिएका लक्ष्य हासिल गर्न सबै निकायका प्रमुखहरूले जिम्मेवारी लिनसमेत उनले निर्देशन दिएकी छिन् ।

“भदौ २३ र २४ गते जेन्जी आन्दोलनको समयमा भएको तोडफोड र आगजनीबाट सार्वजनिक संरचना तथा सम्पत्तिमा भएको क्षतिको कारण लगायतबाट समीक्षा अवधिमा सम्पन्न गर्नुपर्ने कतिपय काम कारवाहीहरूसमेत प्रभावित भएको बताउदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका सबै निकायहरूले जेन्जी आन्दोलनको सन्दर्भमा भएको तोडफोड र आगजनीबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भवनमा भएको क्षति र अन्य भौतिकलगायत सम्पूर्ण क्षतिको विवरण यथाशीघ्र अद्यावधिक गर्ने र अन्तर्गतका निकायहरूमा समेत भएको सम्पूर्ण क्षतिको एकीकृत विवरणको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार गर्न निर्देशन गर्दछु,” उनले भनिन् ।