आगामी निर्वाचनमा भाग लिन चाहने दललाई दर्ताका लागि निर्वाचन आयोगको आह्वान


काठमाडाैँ । अगामी फागुन २१ गते हुने प्रतिनिधि सभा र माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ । 

आयोगले शुक्रवार दुवै निर्वाचनका लागि फरक–फरक सूचना जारी गर्दै दल दर्ता गर्न आह्वान गरेको हो । आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मङ्सिर १ देखि १० गतेसम्म र राष्ट्रिय सभाका लागि मंसिर १ देखि ७ गतेसम्म दल दर्ता गर्न भनेको छ ।

निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईकाअनुसार दर्ताका लागि दलले संवैधानिक र कानूनी आधारहरू पूरा गरेको प्रमाणित गर्नुपर्नेछ । उनले निर्वाचन प्रयोजनको लागि आयोगमा दल दर्ता गर्न यसअघि नै आयोगमा दर्ता भएको हुनुपर्ने, विगतका वर्षहरूका लेखापरीक्षणहरू आयोगमा बुझाएको, केन्द्रिय समितिको बहुमतले निर्णय गरेको, विधान तथा नियमावली अद्यावधिक गरेको, संविधान र निर्वाचन ऐनअनुसार लोकतान्त्रिक चरित्र पूरा गरेको तथा विधानमा तोकिएअनुसार महाधिवेशन सम्पन्न भएको हुनुपर्ने बताए ।

१९ जना राष्ट्रिय सभा सदस्य कार्यकाल सकिएर आगामी फागुन २० मा बिदा हुँदैछन् । त्यसमध्ये एक जना राष्ट्रपतिबाट मनोनित सांसद छन् । बाँकी १८ पदका लागि माघ ११ गते चुनाव हुन लागेको हो ।

जेनजी विद्रोहपछि गठित नागरिक सरकारले प्रतिनिधि सभा विघटन गरी अगामी २१ फागुनमा निर्वाचन गर्दैछ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले राष्ट्रिय परिचयपत्रका आधारमा मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य जारी रहेको बताए ।

उनले परिपत्रकौ डेटाका आधारमा मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य सुरू गरेसँगै सेवाग्राहीको चाप बढेपछि उत्पन्न भएका प्राविधिक समस्या समाधान इन्जिनियरहरू परिचालन गरेको बताए ।  

सबै नागरिकको मताधिकार सुनिश्चित गर्ने उद्देश्यले मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य जारी रहेको उनको भनाइ छ ।