मकवानपुरमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु


काठमाडाैँ । मकवानपुरको भीमफेदी गाउँपालिका–१, बुङदलस्थित भित्री सडकखण्डमा गतराती मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान गएको छ । 

बा प्र ०३–००५ प ७९८० नम्बरको मोटरसाइकल बुङदल खोलाको पुलमाथिबाट करिव ५० फिट तल खसेपछि घटनास्थलमै दुई पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुस्कर बोगटीले बताए।

प्रहरीकाअनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक ३९ वर्षीय वीरबहादुर गुरुङ, स्थायी घर हेटौँडा उपमहानगरपालिका–२ चौकीटोल रहेको र पछाडि सवार ३५ वर्षीय चन्द्रबहादुर गुरुङ, स्थायी घर पूर्वी नवलपरासी, कावासोति नगरपालिका–१३, हाल हेटौडा–२ चौकीटोलमा डेरागरी बस्दै आएको प्रहरीले जनाएको छ ।

दुवैजनाको सनाखत मृतकहरुको श्रीमतीले गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।