कालीमाटी तरकारी बजारस्थित सरकारी भवनमा तोडफोड र आगजनीमा संलग्न अभियुक्त पक्राउ


काठमाडौँ । कालीमाटी तरकारी बजारभित्र रहेको सरकारी प्रशासनिक भवनमा गत भदौ २४ गते भएको तोडफोड र आगजनी घटनामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

शनिबार जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार काठमाडौँ महानगरपालिका–१३ टंकेश्वर बस्ने ४१ वर्षीय विजय लामालाई घटनास्थल नजिकैबाट नियन्त्रणमा लिइएको हो।

भदौ २४ गतेको विरोध प्रदर्शनका क्रममा कालीमाटी तरकारी बजार भित्र अवस्थित सरकारी भवनमा भएको क्षतिको घटनापछिको अनुसन्धानलाई अघि बढाउँदै प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले असोज २९ गते दिउँसो १२ बजेर १० मिनेटमा लामालाई नियन्त्रणमा लिएको जनाएको छ। उनलाई नियन्त्रणमा लिएर आवश्यक छानबिन तथा थप कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार विजय लामामाथि यसअघि पनि विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भएको आरोपसहित मुद्दा दर्ता भएको पृष्ठभूमि छ। प्रहरी वृत्त कालीमाटीमा सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा तथा नैतिकता विरुद्ध अभद्र व्यवहारसम्बन्धी पाँचवटा र केही सार्वजनिक अपराधसम्बन्धी दुईवटा मुद्दा दर्ता रहेको विवरण अनुसन्धानका क्रममा प्राप्त भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार पक्राउ परेका लामाबारे विस्तृत अनुसन्धान भइरहेको र घटनामा अन्य व्यक्तिहरूको संलग्नता भए–नभएकोतर्फ पनि अनुसन्धान केन्द्रित गरिएको छ।