२१ औँ राष्ट्रिय कफी दिवस आज, ‘कफी खेती गरौँ, स्वरोजगार बनौँ’ नारासहित मूल समारोह कीर्तिपुरमा मनाइँदै


काठमाडाैँ । देशभर आज २१ औँ राष्ट्रिय कफी दिवस उत्साहपूर्वक मनाइँदै छ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले ‘कफी खेती गरौँ, स्वरोजगार बनौँ’ भन्ने नारालाई अगाडि राख्दै कीर्तिपुरस्थित समशितोष्ण वागवानी केन्द्रमा विशेष कार्यक्रम आयोजना गरेको छ, जहाँ कफीका किसान, स्टेट सञ्चालक, प्रसोधन उद्योग, कफी व्यवसायी तथा उपभोक्ताहरूको ठूलो उपस्थिति रहने अपेक्षा गरिएको छ।

कफी दिवस मनाइँदै गर्दा नेपालमा कफीको माग तीव्र रूपमा बढिरहे पनि उत्पादन त्यसअनुसार वृद्धि हुन नसकिरहेको बोर्डले जनाएको छ। सहर केन्द्रित कफी संस्कृतिको विस्तार, क्याफे व्यवसायको वृद्धि, युवा पुस्ताको बदलिँदो जीवनशैली र अन्तर्राष्ट्रिय बजारमा ‘नेपाल कफी’ को आकर्षणले गर्दा कफीको आन्तरिक बजार हरेक वर्ष ठूलो दरले फैलिँदै गएको छ।

आर्थिक वर्ष २०८१/८२ मा नेपालले जम्मा ६४२ मेट्रिक टन ग्रीन बीन कफी उत्पादन गरे पनि सोही समयमा १४ करोड ४१ लाख रुपैयाँ बराबरको २३० मेट्रिक टन कफी विदेशबाट भित्र्याउनुपरेको तथ्याङ्कले नेपालको कफी क्षेत्रमा देखिएको असन्तुलनलाई स्पष्ट गर्छ। त्यस्तो असन्तुलन निर्याततर्फ झनै बढी देखिन्छ, किनकि गत वर्षमा ८८ हजार किलोग्रामभन्दा बढी निर्यात भएको कफी यस वर्ष झरेर ६४ मेट्रिक टनकै आसपास सीमित भएको छ।

यता कफीकाे ११ वर्षको यात्रा हेर्ने हो भने नेपालले कफी उत्पादन बढाउने प्रयास निरन्तर गरिरहेको देखिन्छ। २०७०/७१ मा ४२९ मेट्रिक टन रहेको उत्पादन २०८१/८२ मा ६४१.९ मेट्रिक टन पुगेको छ, तर उत्पादन वृद्धिको गतिलाई भन्दा पनि बजार माग र आयात वृद्धिको गति निकै तीव्र छ। बोर्डकाे विज्ञप्तिअनुसार यस वर्ष मात्र २३४ मेट्रिक टन कफी आयात हुँदा यसको मूल्य १४४ करोड रुपैयाँ नाघेको छ। उत्पादन बढेपनि निर्यात घट्दै गएको र आयात बढ्दो छ भन्ने तथ्याङ्कले कफी क्षेत्रले तत्काल समाधान खोज्नुपर्ने चुनौतीहरू देखिएको छ।

बोर्डका कार्यकारी निर्देशक फाइन्द्रराज पाण्डेका अनुसार आन्तरिक माग अत्यधिक बढिरहेको, युवा पुस्तामा कफीको आकर्षण चुलिएको र अन्तर्राष्ट्रिय बजारले नेपाली कफीलाई उच्च मूल्यमा किनेको अवस्थामा किसान संरक्षण, क्षेत्र विस्तार, बजारीकरण र नियमन सबै तहका सरकारबिचको समन्वयका बिना प्रभावकारी रूपमा अघि बढ्न सक्दैन।

कफी दिवसको सन्देशलाई अघि बढाउँदै बोर्डले हाल कफी उत्पादन विस्तारका लागि सम्भावित प्रदेशहरूमा चक्लाबन्दीमार्फत कफी क्षेत्र विस्तार, डेमो प्लट निर्माण, व्यवसायिक नर्सरी स्थापना र अनुसन्धान प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिरहेको बताएको छ। आगामी वर्षहरूमा युवालाई कफी खेती तथा कफी स्टेट विकासतर्फ आकर्षित गर्ने उद्देश्यले विशेष स्टार्टअप कार्यक्रम ल्याइने तयारी पनि गरिँदैछ, जसले कफी खेतीलाई रोजगारी र आयआर्जनको नयाँ विकल्पका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।