जेनजी आन्दोलनपछि बन्द भएको मौलाकाली केबलकार पुनः सञ्चालनमा


काठमाडाैँ । गैँडाकोट–१ स्थित मौलाकाली केबलकार दुई महिनापछि पुनः सञ्चालनको तयारीमा छ। भदौ २४ मा जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीले तल्लो स्टेशनमा क्षति पुर्‍याएपछि सेवा बन्द भएको थियो।

स्टेसन म्यानेजर सुरज पौडेलका अनुसार आइतबार साँझ सम्पन्न प्राविधिक परीक्षण सफल भएको छ। अब केही दिन थप परीक्षण गरी कुनै समस्या नदेखिए सर्वसाधारणका लागि केबलकार पुनः खुला गरिने बताइयो। क्षतिग्रस्त उपकरणको विस्तृत परीक्षण तथा मर्मतका लागि केबलकार जडान कम्पनी अष्ट्रियाबाट आएको विशेष प्राविधिक टोलीले एक सातासम्म निरीक्षण गरेको थियो।

मौलाकाली केबलकार लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार आगजनी र तोडफोडका कारण संरचना र उपकरणमा करोडौँ रुपैयाँ बराबरको क्षति पुगेको छ।

केबलकार बन्द भएपछि मौलाकालिका मन्दिरमा आउने भक्तजनको संख्या समेत कम भएको धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाले बताए।

केबलकार पुनः संचालनमा आएसँगै मन्दिर दर्शनार्थी तथा प्राकृतिक दृश्यावलोकनका पर्यटक बढ्ने अपेक्षा गरिएको छ।