काठमाडाैँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले कर प्रशासनमा आमुल परिवर्तन गर्नका लागि आफू निरन्तर लागिपरेको बताएका छन् ।
आज नेपाल उद्योग परिसंघले राजधानीमा गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै करचुक्ता प्रमाणपत्रकै आधारमा अटोमेटिक रूपमा व्यवसाय नविकरण गर्नका लागि काम भइरहेको बताएका हुन् ।
उनकाअनुसार कर प्रशासन सुधारदेखि एउटै बिन्दुबाट सबै प्रकारका कर भुक्तानी गर्ने प्रणालीको विकास गर्ने काम भइरहेको छ । अहिले एउटा व्यवसाय, कम्पनी खोल्नका लागि अनेकौँ निकायमा जानुपर्ने बाध्यतालाई हटाउन काम भइरहेको खनालले बताए ।
खनालकाअनुसार केही महिना भत्रै अनलाइनमार्फत व्यवसायीलाई कर चुक्ता प्रमाण पत्र दिने कामको समेत थालनि गरिनेछ । केही समय भित्र करचुक्ता प्रामाणपत्रकै आधारमा व्यवसाय नविकरण गर्ने वातावरण सिर्जना हुनेछ । त्यसका लागि कामहरु भइरहेको छ ।
“करप्रशासनलाई सुधार गर्ने, एउटै बिन्दुबाट सबै प्रकारको कर भुक्तानी गर्ने पद्धतिको प्रारम्भ गर्ने आयकर चुक्ता प्रमाणपत्रका आधारमा अटोमेटिक रुपमा व्यवसायी नविकरण गर्ने दिशामा हामी गइरहेका छौं । अस्तीबाट मात्रै हामीले अनलाइन पर्सनल प्यान नम्बर लिन सकिने व्यवस्था गरेका छौँ । अनलाइनमा कर चुक्ता प्रमाणपत्र लिनसक्ने व्यवस्था गरेका छौं । पहिलो चरणमा अनलाइन पर्सनल प्यान लिन सक्ने र सिंगल कमाइ भएको व्यक्तिहरुका पहिलो चरणमा कर चुक्ता अनलाइन प्रमणपत्र दिइएको छ । दोस्रो चरणमा डे १, डे २, डे ३ सबैका लागि त्यसमा काम भइरहेको छ,” उनले भने ।
अर्थमन्त्री खनालले अहिले चुनावी सरकार भएकाले करका दरहरु हेरफेरतर्फ आफूले ध्यान केन्द्रित नगरेको बताए। करका दरहरू हेरफेर गर्दा विरोधहरू हुने र चुनावी माहोललाई नै असर पार्ने भएकाले त्यसतर्फ आफूले ध्यान नदिएको खनालको भनाइ छ ।
खनालले निर्वाचन गराउन गठित सरकार भएकाले तत्कालै निजी क्षेत्रले खोजेअनुसारका कानूनहरू समेत ल्याउनसक्ने अवस्था नरहेको बताए । उनकाअनुसार अबको केही दिनमै निर्वाचन आचारसंहिता लाग्नेछ, त्यसबेला सरकारले दीर्घकालिन महत्वका केही काम गर्न सक्नेछैन ।



प्रतिक्रिया दिनुहोस्