मेडिकल क्षेत्र जसरी नै अरू क्षेत्रले पनि फड्को मार्नुपर्छः सुनिल शर्मा


काठमाडाैँ । पूर्वसांसद डा.सुनिल शर्माले नेपालले मेडिकल क्षेत्रमा गरेको प्रगति उल्लेखनीय भएको तर अरू क्षेत्रमा पनि त्यस्तै छलाङ आवश्यक रहेको बताएका छन् ।

नोबेल मेडिकल कलेजको वार्षिक ‘नोबेल डे’ कार्यक्रममा बोल्दै डा. शर्माले मेडिकल विधामा नेपालले आफूलाई जति छलाङ मार्नसक्यो, अरु विधामा पनि त्यस्तो प्रगति भए मुलुक दुबइ वा सिंगापुरको स्तरमा पुग्न बताएका हुन् । उनले भने, “अहिले मेडिकल क्षेत्रमा मात्र ठूलो प्रगति भयो, अरू क्षेत्रमा अपेक्षाकृत कम प्रगति देखियो।”

उनका अनुसार राज्यको नीति र सबैको मेहनतले नेपालले मेडिकल क्षेत्रमा महत्वपूर्ण फड्को मार्न सफल भएको छ।

“अब हाम्रो जमाना सकिएको छ। नयाँ पुस्ताको जमाना हो। म आशा गर्छु कि अर्को २० वर्षमा म बुढो भएपछि पनि ‘नोबेल डे’ मनाउँदा, आजको स्थितिको तुलना गर्दा हामी अझ २० गुणा अगाडि बढेको देख्न सक्नेछौं,”उनले भने ।