काठमाडाैँ । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले केही नेताहरूले प्रयोग गर्ने द्वेषपूर्ण शब्दावलीले राजनीतिक र सामाजिक वातावरण दूषित बनेको टिप्पणी गरेकी छन् ।
सिंहदरबारमा राजनीतिक दलहरूसँग भएको छलफलका क्रममा उनले निर्वाचनको संघारमा आचार र अभिव्यक्तिमा ध्यान दिन सबैलाई सचेत गराएकी हुन्।
प्रधानमन्त्री कार्कीले भनिन्, “निर्वाचनको सँघारमा हामीले राजनीतिक आचार र अभिव्यक्तिमा पनि ध्यान दिन आवश्यक छ। केही नेताहरूले प्रयोग गर्नुभएका द्वेषपूर्ण शब्दावलीहरूले राजनीतिक र सामाजिक वातावरण दूषित बनाएका छन्। आचारसंहिताको गम्भीर उल्लङ्घन मान्दै त्यस्ता अभिव्यक्ति र हेट स्पीचविरुद्ध तत्काल र सार्वजनिक कारबाही गर्न सरकारले निर्वाचन आयोगलाई पूर्ण सहयोग गर्नेछ।”
उनले थपिन, “हामीले हाम्रा शब्दहरूको मर्यादा कायम गर्नुपर्छ, किनकि राजनीतिमा संस्कार र अनुशासन अनिवार्य छ। विगतका निर्वाचनहरूमा देखिएको अनावश्यक खर्च, स्रोतसाधनको दुरुपयोग र कर्मचारी भर्नाको बदनामी रोक्न सरकारले कडाइका साथ निगरानी गर्नेछ। प्रचारप्रसारको अवधि २१ दिनभन्दा बढी नदिने व्यवस्था मिलाएर निर्वाचनलाई मितव्ययी र पारदर्शी बनाउने हाम्रो प्रतिबद्धता छ। यो नेपाली नागरिकको करको पैसा हो, यसलाई दुरुपयोग हुन दिइने छैन।”



प्रतिक्रिया दिनुहोस्