पहिलो चौमासिकमा काठमाडौं महानगरपालिकाको खर्च १२.९४ प्रतिशत


काठमाडाैँ । चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा काठमाडौं महानगरपालिकाले १२.९४ प्रतिशत खर्च गरेको छ । विनियोजित २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रूपैयाँमध्ये ३ अर्ब २५ करोड २२ लाख ८४ हजार ६१ रूपैयाँ खर्च भएको हो ।

यसमा चालु तर्फको ९ अर्ब ५६ करोड ३६ लाख २९ हजार रूपैयाँ बजेटमा २ अर्ब १३ करोड ३३ लाख १ हजार ६६१ रुपैयाँ र पुँजीगततर्फ १५ अर्ब ५३ करोड ७ लाख १२ हजार रूपैयाँ बजेटमा एक अर्ब ११ करोड ८९ लाख ८२ हजार ४ सय रुपैयाँ खर्च भएको आर्थिक प्रशासन महाशाखा प्रमुख श्यामप्रसाद न्यौपानेले जानकारी दिए ।

यस अवधिमा केन्द्रबाट खर्च हुने बजेटबाट १४ प्रतिशत खर्च भएको छ । वडातर्फ सबैभन्दा धेरै १९.४१ प्रतिशत र सबैभन्दा कम ०.३८ प्रतिशत रकम खर्च भएको छ । ३ वर्षमा महानगरपालिकाले पहिलो चौमासिकमा गरेको खर्चलाई तुलना हेर्दा २०८०/०८१ मा १२.९ प्रतिशत, २०८१/०८२ मा १२.३४ प्रतिशत र यस वर्ष १२.९४ प्रतिशत खर्च भएको देखिन्छ ।

गएको वर्ष विनियोजित २५ अर्ब ८६ लाख ५२ हजार रुपैयाँमा ३ अरब ८ करोड ८४ लाख २१ हजार ४८४ रूपैयाँ अर्थात १२.३४ प्रतिशत खर्च भएको थियो । विनियोजित रकममा चालुतर्फ १ अर्ब ८० करोड ५४ लाख ९९ हजार २९० रूपैयाँ र पुँजीगततर्फ १ अर्ब २८ करोड २९ लाख २२ हजार १९३ गरी खर्च थियो ।

यसमा चालुतर्फ ९ अर्ब ८२ करोड २० लाख ५० हजार ७१८ रूपैयाँ र पुँजीगततर्फ १५ अर्ब ६ करोड ५६ लाख १ हजार २८२ रूपैयाँ बजेट विनियोजित थियो । यसमा केन्द्रबाट १३.३१ प्रतिशत खर्च भएको थियो । सबैभन्दा धेरै खर्च गर्ने वडा वडा नं. १९ ले २०.९३ प्रतिशत र सबैभन्दा कम खर्च गर्ने वडा नं. ११ ले १.१९ प्रतिशत खर्च गरेको थियो । 

आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजित २४ अरब १८ करोड ७८ लाख ८२ हजार रूपैयाँमध्ये २ अर्ब ९२ करोड ५७ लाख ९७ हजार २१३ रूपैयाँ अर्थात् १२.०९ प्रतिशत बजेट खर्च भएको थियो । यस वर्ष चालुतर्फ विनियोजित ९ अर्ब ३ करोड ६८ लाख २९ हजार ६०७ रूपैयाँमा एक अर्ब ६८ करोड ७ लाख ६९ हजार ५६० रूपैयाँ र पुँजीगततर्फ विनियोजित १५ अर्ब १० करोड १० लाख ५२ हजार ३९३ रूपैयाँमा १ अर्ब २४ करोड ५० लाख २७ हजार ६५३ रूपैयाँ खर्च भएको थियो ।

यस अवधिमा केन्द्रबाट गरिने खर्चको प्रतिशत १२.७८ थियो । सबैभन्दा धेरै खर्च गर्ने वडा १९ ले २१.२३ प्रतिशत र सबैभन्दा कम खर्च गर्ने वडा वडा नं. ३२ ले १.१४ प्रतिशत खर्च गरेको थियो । यस वर्ष वडाहरूतर्फ १० वटा वडाको १० प्रतिशतभन्दा धेरै खर्च गरेका छन् । यसरी खर्च गर्ने वडाहरुमा वडा नं. २ ले १२.८१ प्रतिशत, वडा नं. ७ ले २०.५५ प्रतिशत, वडा नम्बर ८ ले १०.५३ प्रतिशत, वडा नम्बर १० ले १०.८१ प्रतिशत खर्च गरेको महाशाखा प्रमुख न्यौपानेको भनाइ छ ।

उनकाअनुसार वडा नं. १४ ले १५.८६ प्रतिशत, वडा नम्बर १६ ले १९.४१ प्रतिशत, वडा नम्बर १९ ले १६.६९ प्रतिशत, वडा नम्बर २३ को १२.८४, वडा नम्बर २७ को १४.४४ प्रतिशत वडा नम्बर २९ को १०.१४ प्रतिशत खर्च गरेका छन् ।